काठमाडौं । कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरूको सङ्ख्या उल्लेख्य रूपले बढेको छ।
गत आर्थिक वर्ष ०८१/०८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरू गरी चार हजार २९० कार्यालय तथा संस्थाहरू योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध भएका छन्। कोषमा आबद्ध भएका कार्यालय तथा संस्थाहरूका करिव ९९ हजार ३९१ जना योगदानकर्ताहरूबाट गत आर्थिक वर्षको अन्त्यसम्मका करिव १५ अर्ब रुपैयाँ योगदानमा आधारित निवृत्तभरण कोषमा जम्मा भएको छ।
योगदानमा आधारित निवृत्तभरण कोषमा थप सरकारी कार्यालय र प्रतिष्ठानहरू आवद्ध हुनेक्रम जारी छ। साथै, बैंक तथा वित्तीय क्षेत्र तथा निजी क्षेत्रबाट पनि योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्धताका लागि कोषमा सम्पर्क गर्ने क्रम उल्लेख्य रूपले बढ्दै गएको छ।
कोषले आफ्नै स्रोतबाट योगदानकर्ताहरूलाई विभिन्न किसिमका सुविधाहरू समेत उपलब्ध गराउँदै आएको छ। जसअनुसार, सामाजिक सुरक्षा सुविधाअन्तर्गत योगदानकर्ताहरूलाई दुर्घटना क्षतिपूर्ति २ लाखसम्म, काजकिरिया अनुदान ४० हजार, प्रसूती सुविधाअन्तर्गत प्रतिप्रसूती ७ हजार ५०० तथा स्वाथ्योपचारतर्फ साधारण रोगमा १ लाखसम्म र कडा रोगमा १० सम्म सुविधा प्रदान गर्दै आएको छ।
कोषले यही १ साउनदेखि लागू हुने गरी योगदानकर्ताहरूलाई निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ प्रतिशत निर्धारण गरेको छ। साथै, कोषले वार्षिक रूपमा आर्जन गर्ने मुनाफाको निश्चित प्रतिशत रकमसमेत योगदानकर्ताहरूलाई प्रदान गर्ने गरेको छ।
कोषले योगदानकर्ताहरूबाट संचित रकममा वार्षिक ५ प्रतिशत ब्याजदर र मुनाफा रकम समेत प्रदान गर्दै आएको छ। कोषले योगदानकर्ताहरूलाई सहुलियत ब्याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी तथा सरल सापटी उपलब्ध गराउँदै आएको छ।
सरकारले ०८२ असार २० गते सबै मन्त्रालय, निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई आर्थिक वर्ष ०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न निर्देशन दिएको छ।
निवृत्तभरण कोष ऐन, २०७५ कार्यान्वयनमा आएपछि नेपाल सरकारले निर्णय गरी कर्मचारी सञ्चय कोषलाई योगदानमा आधारित निवृत्तभरण कोष संचालनको जिम्मा दिए बमोजिम कोषले २०७६ साल साउनदेखि योगदानमा आधारित निवृत्तभरण कोष समेत सञ्चालन गर्न सुरू गरेको हो।
सोहीअनुरूप ०७६ साउन १ गतेपछि सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, कोष, कम्पनी र समितिलगायतका सङ्गठित संस्थामा नियुक्त भएका कर्मचारीहरूको सम्बन्धित संस्थासँग सम्झौता गरी कोषबाट योगदानमा आधारित निवृत्तभरण कोष संचालन गर्दै आएको छ।
योगदानमा आधारित अवकाश कोष अन्तर्गत योगदानमा आधारित निवृत्तभरण, योगदानमा आधारित आवधिक निवृत्तभरण, योगदानमा आधारित उपदान र योगदानमा आधारित आजीवन निवृत्तरण योजनाहरू संचालनमा रहेका छन्।






































