काठमाडौं । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा बाढी र पहिरोले करिब एक दर्जन स्थानमा बाटो अवरुद्ध बनाएको छ । गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार सडक अवरुद्ध हुँदा उद्धार र राहत कार्यमा कठिनाइँ भएको बताएका छन् ।
मंगलबार बिहान करिब तीन बजे आएको भीषण बाढी र पहिरोले त्यस क्षेत्रमा ठूलो क्षति पुगेको हो ।
गाउँपालिका अध्यक्ष तामाङका अनुसार चीनको तिब्बत क्षेत्रबाट बग्ने लेन्दी खोलामा उर्लिएको बाढीका कारण टिमुरे र रसुवागढी क्षेत्रमा बढी क्षति पुगेको छ । बाढीले बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि पूर्ण रूपमा बगाएको छ ।
[caption id="" align="aligncenter" width="192"]
गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ[/caption]
अध्यक्ष तामाङले भने, ‘नौरदश ठाउँमा बाटो भत्किएको छ । यसले हामीलाई उद्धार र राहतमा ठूलो समस्या भएको छ ।’
बाढीले ड्राइपोर्टमा राखिएका इलेक्ट्रिक गाडीहरू बगाएको र १५ जना हराइरहेको उनले बताए । जसमध्ये तीन जना नेपाल प्रहरी र केही चिनियाँ नागरिक छन् । उनकाअनुसार हालसम्म ९ जनालाई उद्धार गरिएको छ तर प्रतिकूल मौसमले उद्धार कार्यलाई जटिल बनाएको छ ।
स्थानीय बस्तीमा भने अहिलेसम्म बाढी नपसे पनि खोलाको किनारमा रहेका हाइड्रोपावर र ड्राइपोर्टका संरचनाहरूमा ठूलो क्षति भएको उनले बताए ।
अध्यक्ष तामाङले आफूले सदरमुकाम धुन्चेबाट समन्वय गरिरहेको र स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको बताए ।
‘बाढीको जोखिम अझै छ, माथिल्लो क्षेत्रमा पानी पर्ने क्रम नरोकिएकाले सबैलाई सतर्क रहन भनेका छौं,’ उनले भने ।






































