काठमाडौँ । रौतहटमा सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवान आफ्नै शरीरमा आगो लगाएर घाइते अवस्थामा फेला परेका छन्।
पासवानलाई रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फ बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको हो।
गत शनिबार गौर बजार जाने भन्दै डेराबाट निस्किएकी रुबी साहको शव सुटकेसमा प्याक गरी फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार आत्मदाहको प्रयास गरेका पासवानलाई आज बिहान करिब साढे ६ बजे नहर अगाडि स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। सो क्रममा प्रहरीले उनलाई जलेको अवस्थामा उद्धार गरेको हो।
सोसल मिडियामा सक्रिय रहेका पासवानको शरीर गम्भीर रूपमा जलेको छ। उनलाई प्राथमिक उपचारपछि कीर्तिपुर बर्न अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।






































