काठमाडौँ। साताको तेस्रो कारोबारका दिन शेयर बजारमा सामान्य सुधार आएको छ । लगातार पाँच दिनको ओरालो यात्रामा ब्रेक लाग्दै आज बजारमा सामान्य सुधार आएको हो । लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा शेयर बजारमा लगातार गिरावट आएको हो । बजार बढेसँगै कारोबार रकममा समेत आशा पलाएको छ ।
आज नेप्से सूचक ६.५४ विन्दुले बढेर २६८३.८६ अंकमा आएको छ। उक्त दिन ७ अर्ब २४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ५ वटा समूहका सूचक सकारात्मक बनेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी तेजी आएको छ ।
यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै २.३७ प्रतिशत बढेको छ। हाइड्रोपावर १.५७, लगानी ०.४८ तथा उत्पादन ०.०१ प्रतिशत बढे। व्यापार समूह सबैभन्दा धेरै १.०५ प्रतिशत घटेको छ। अन्य ०.०१, निर्जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.०४, जीवन बीमा ०.०८, होटल तथा पर्यटन ०.४७, फाइनान्स ०.२९ तथा बैंकिङ ०.२० प्रतिशत घटेको छ । चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। त्यस्तै सप्तकोशी विकास बैंकको ८.५, इमर्जिङ नेपालको ७.५ प्रतिशत मूल्य बढेको छ ।
आम लगानीकर्ता मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षको प्रतीक्षामा रहेको देखिन्छ । समीक्षामार्फत बजार अघि बढाउनका लागि थप नीतिगत सहुलियत प्राप्त हुने लगानीकर्ताको अपेक्षा रहेको छ । गभर्नर महाप्रसाद अधिकारीको यो अन्तिम मौद्रिक नीति समीक्षा भएकाले सकेसम्म सबैलाई खुशी बनाएर विदा हुने मनस्थितिमा रहेको देखिन्छ। नीतिहरु थप कसिलो हुने सम्भावना भने देखिदैन्। सकेसम्म अरु लचक नै हुने जानकारहरुको भनाई छ ।
मौद्रिक नीति समीक्षामा थल लचकता अपनाइएमा त्यसले सेयर बजारका लगानीकर्ताको मनोबल उकास्न सहयोग पुग्नेछ । थोरै माहोल सकारात्मक बनाउने नीति तथा कार्यक्रम आएमा सेयर बजारले लय समाउन सक्ने आधारहरु भने देखिएका छन् ।






























