काठमाडौँ। मुलुकमा विदेशी मुद्रा सञ्चिति २४ खर्ब रुपैयाँ पुगेको छ । आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनाको अवधिमा कुल विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा मुद्रा सञ्चिति १८.९ प्रतिशतले बढेको हो ।
गत असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १५.६ प्रतिशत बढेर २१ खर्ब ३६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थासँग चैतसम्म ५०.८ प्रतिशतले वृद्धि भई २ खर्ब ९० अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । २०८१ असार मसान्तसम्ममा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो। २०८१ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
चालु आवको ९ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

































