काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु हुनै लाग्दा शेयर लागनीकर्ताहरूमा विशेष खालको चासो देखिएको छ । अर्थतन्त्रको वृद्धिमा शेयर बजारको भूमिकालाई पनि महत्त्वपूर्ण मान्ने गरिन्छ । यद्यपि राज्यले शेयर बजारलाई प्रोत्साहन गर्ने खालको नीति तथा कार्यक्रम अवलम्वन नगर्दा लगानीकर्ताहरू बेलाबेला निराश हुने गरेका छन् । यसको प्रत्यक्ष असर बजारमा समेत देखिने गरेको छ ।
नयाँ आर्थिक वर्ष सुरु हुनै लाग्दा शेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकबाट सकारात्मक म्रौद्रिक नीति आउने कुराको अपेक्षा राखेका छन् । खास त शेयर बजारको वृद्धि र विकासका लागि मौद्रिक नीतिमा रहेका पुराना व्यवस्था सच्याउन आवश्यक रहेको लगानीकर्ताहरू औल्याउँछन् ।
“राष्ट्र बैंकका पुराना मौद्रिक नीतिमा यस्ता व्यवस्था छन् जसले शेयर मार्केटको वृद्धि र विकासमा बाधकको भूमिका खेलिरहेका छन्,” आर्थिक भ्वाइससँगको कुराकानीमा लगानीकर्ता जगदीश लामिछाने बताए ।
हालको मौद्रिक नीतिमा विभिन्न अड्चन रहेको गुनासो गर्दै त्यसलाई सच्याउनतिर राष्ट्र बैंकले तत्परता देखाउनुपर्ने उनको भनाइ थियो ।
“शेयर बजारमा व्यक्तिले १५ करोडभन्दा बढीको लगानी गर्न नपाइने भन्ने व्यवस्था छ । त्यो लिमिट हटाउनुपर्छ भन्ने मलाइ लाग्छ । उता बैंकहरूमा पनि ७० खर्बभन्दा बढी रकम तरलता छ तर लिमिटका कारण लगानीकर्ताले बैंकबाट ऋण लिएर शेयरमा लगानी गर्न सकिरहेका छैनन्,” उनले भने ।
लगानीकर्ता लामिछानेका अनुसार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् उक्त सीमालाई बढाएको खण्डमा शेयर बजारले ‘पिक अप’ लिँदै जाने अवस्था बन्नेछ । शेयर बजारको सम्बन्ध अर्थतन्त्रका अन्य अंगसँग पनि हुने जनाउँदै अर्थतन्त्रलाई कसरी स्वस्थ बनाउने भन्नेमा राष्ट्र बैंकको ध्यान जानुपर्नेमा उनले जोड दिए ।
https://aarthikvoice.com/archives/67814
यस्तै सरल ढंगले शेयर कर्जा लिन सकिने वातावरणको विकास हुनुपर्ने उनले बताए । “ठूला कर्पाेरेट र व्यापारीले शेयर कर्जाको उपयोग गरेपनि सर्वसाधारणले त्यसको फाइदा उठाउन पाएका छैनन्,” उनले अगाडि सुनाए, “सर्वसाधारणलाई पनि शेयर कर्जा प्रदान गर्ने गरी उपाय सोच्नुपर्छ । त्यसका लागि ब्रोकरका माध्यमबाट मार्जिन लेन्डिङ पनि गर्न सकियो ।”
नेप्सेमा दैनिक ५ देखि १० अर्ब रुपैयाँसम्मको कारोबार हुनुले शेयर बजारप्रति मानिसहरूको आकर्षणसँगै लगानी पनि बढेको पुष्टि हुने उनको धारणा छ । “शेयर बजार भनेको एउटा साइकल (चक्र) हो । हाल बजार माथितिर लाग्नुपर्ने साइकल चलिरहेको छ । लगानी गर्न डराउनुपर्ने अवस्था छैन तर राज्यले बजारलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ,” उनले भने ।
यस्तै, उनले जथाभावी कम्पनी स्थापना गरेर आइपीओ खुला गर्ने प्रचलनको पनि अन्त्य हुनुपर्ने विचार राखे । “कम्पनीको नेटवर्थ ऋणात्मक हुन्छ । तैपनि आईपीओ निष्काशनका लागि अनुमति दिइन्छ । यो कुरालाई पनि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने देख्छु,” उनले सुझाव राख्दै भने, “त्यस्ता कम्पनीले पूँजी संकलन त गर्लान् तर तिनले सर्वसाधारणको लगानी भने सुरक्षित राख्न सक्दैनन् ।”
शेयर बजार अर्थतन्त्रको मेरुदण्ड भएको हुँदा त्यसलाई चुस्त ढंगले सञ्चालन गर्ने खालको मौद्रिक नीति आवश्यक रहेको भनाइ उनले राखे । ठगी र छली कम गर्न सघाउ पुग्ने नीति तथा कानून समेत बन्न जरुरी रहेको उनको सुझाव थियो ।


































