काठमाडौँ। जीवनमा खाली हुनु भनेको सकिनु होइन, बरु नयाँ ढङ्गले पुनः भरिनु हो भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढेकी सशक्त महिला अभिकर्ता हुन् सरस्वती गौतम। उनको जीवन संघर्ष, सफलता र आत्मविश्वासले भरिपूर्ण रहेको छ।
काभ्रेपलाञ्चोकमा जन्मिएकी सरस्वती गौतम विगत करिब तीन दशकदेखि काठमाडौँमा बसोबास गर्दै आएकी छिन्। यहीँ उनले आफ्नो अध्ययन, पारिवारिक जीवन र व्यवसायिक यात्रा अघि बढाइन्।
हाल उनी लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको कलंकी शाखामा आबद्ध भई ‘फर्स्ट चेयरपर्सन’को भूमिकामा कार्यरत छिन्। उनले विगत सात वर्षदेखि निरन्तर ‘चेयरम्यान क्लब अचिभर’ बन्ने सफलता हासिल गरेकी छन् भने हालसम्म सात पटक ‘एमडीआरटी’ जस्तो अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त गरिसकेकी छिन्।
यद्यपि, उनको यात्रा सुरुदेखि नै सहज भने थिएन।
बीमा अभिकर्ता यात्राको सुरुवात
बीमा क्षेत्रमा प्रवेश गर्नु अघि सरस्वती पूर्ण रूपमा कपडा व्यवसायमा संलग्न थिइन्। उनका दुई वटा पसल सञ्चालनमा थिए। उनको मनमा ‘केही ठूलो, चिनिने र ब्रान्ड जस्तो काम गर्ने’ चाहना थियो। यही चाहनाले उनलाई बीमा क्षेत्रतर्फ आकर्षित गर्यो।
छोराको विद्यालयकी साथीकी आमा कोपिला बस्नेत, जो पछि उनकी एजेन्सी म्यानेजर बनिन्, उनले पहिलोपटक सरस्वतीलाई बीमा क्षेत्रमा प्रवेश गर्न प्रेरित गरिन्। सुरुमा छोराको बीमा गर्ने सन्दर्भबाट सुरु भएको चिनजान विस्तारै पेशागत सम्भावनातर्फ मोडियो र त्यहीँबाट उनको अभिकर्ता यात्रा आरम्भ भयो।
“तपाईं आफैं पनि गर्न सक्नुहुन्छ,” भन्ने एउटा सामान्य वाक्यले उनको जीवनको दिशा नै परिवर्तन गरिदियो।

त्यसपछि सन् २०१९ को मार्चबाट उनले औपचारिक रूपमा एलआईसी नेपालबाट बीमा क्षेत्रमा पाइला राखिन्। तर त्यो यात्रा त्यति सहज भने थिएन। उनी सम्झिन्छिन्, “सुरुमा मलाई आफूले गर्न सक्छु भन्ने आत्मविश्वास नै थिएन। तर केही गर्ने चाहनाले मलाई अगाडि बढायो।”
आत्मविश्वासको बीजारोपण
सरस्वती सानैदेखि स्पष्ट रूपमा अभिव्यक्ति दिन सक्ने र राम्रोसँग बोल्न सक्ने स्वभावकी थिइन्। उनलाई भेट्ने धेरैले “तपाईंको आवाज राम्रो छ, मिडियामा जानुपर्छ” भन्ने सुझाव दिने गर्थे। तर पारिवारिक जिम्मेवारीका कारण उनले त्यो बाटो रोज्न सकिनन्। बीमा क्षेत्रमा प्रवेश गरेपछि भने यही गुण उनको सबैभन्दा ठूलो शक्ति बन्यो।
उनी भन्छिन्, “जब मैले अरू सफल अभिकर्ताहरूलाई प्रस्तुत हुँदै गरेको देखेँ, त्यसबेला मलाई पनि म सक्छु भन्ने महसुस हुन थाल्यो।”
उनले सामाजिक सञ्जालमा देखिने सफल व्यक्तिहरूको प्रस्तुति अध्ययन गर्ने, नोट गर्ने र अभ्यास गर्ने बानी बसालिन्। विशेषगरी सफल अभिकर्ता प्रभा ज्ञवालीबाट उनी निकै प्रभावित भइन्।
https://aarthikvoice.com/archives/83012
उनका भिडियो, भाषण शैली र आत्मविश्वास सरस्वतीका लागि सिकाइको महत्वपूर्ण स्रोत बने।
संघर्षका दिनहरू
बीमा क्षेत्रमा सुरुवाती दिनहरू निकै चुनौतीपूर्ण थिए। मानिसहरूलाई बीमाबारे बुझाउनु, उनीहरूको विश्वास जित्नु र समय दिन प्रेरित गर्नु सजिलो थिएन। “कसले साथ दिन्छ ? कसरी अघि बढ्ने ?” भन्ने प्रश्नले उनलाई बारम्बार चिन्तित बनाउँथ्यो।
त्यसमाथि उनी झुट बोल्न नसक्ने स्वभावकी थिइन्। बजारमा धेरैले बढाइचढाइ गरेर कुरा गर्ने गरे पनि सरस्वतीले आफ्नो नैतिकता त्यागिनन्।
“झुट बोल्न नजान्ने मान्छेलाई बजारमा टिक्न गाह्रो हुँदो रहेछ,” भन्ने अनुभूति उनले धेरैपटक गरिन्। तर उनले आफ्नो सिद्धान्त कहिल्यै छोडिनन्।
उनको मुख्य आधार थियो—आस्था र सकारात्मक सोच। उनी भगवद् गीताबाट प्रेरित छिन्। “आज जे भयो भयो, भोलि राम्रो हुन्छ,” भन्ने विश्वासले उनलाई निरन्तर अगाडि बढ्न उत्प्रेरित गरिरह्यो।
असफलतासँग जुध्दै अघि बढेकी सरस्वती
उनको जीवनको महत्वपूर्ण मोड भनेको कपडा व्यवसायमा आएको घाटा थियो। उनले करिब पाँच लाख रुपैयाँ नोक्सानी व्यहोर्नुपर्यो। त्यसपछि उनले बीमा क्षेत्रमा पूर्ण ध्यान दिन थालिन्।

महिनाको २० हजार रुपैयाँ कमाउने लक्ष्यबाट सुरु भएको उनको यात्रा आज लाखौँको कारोबारसम्म पुगेको छ।
बीमा क्षेत्रमा सफलता सहज रूपमा प्राप्त हुँदैन। स्पष्ट लक्ष्य, निरन्तर मेहनत र ग्राहकसँग दीर्घकालीन सम्बन्ध आवश्यक पर्छ। सरस्वतीका अनुसार, “वर्षमा ९० भन्दा बढी बीमा गराउनु र २५–२७ लाख रुपैयाँ प्रिमियम संकलन गर्नु सजिलो काम होइन।”
तर उनले कहिल्यै हार मानिनन्। कम्पनीले ल्याउने हरेक योजनालाई लक्ष्य बनाएर निरन्तर मेहनत गरिन्। फलस्वरूप उनले ‘चेयरम्यान क्लब’ र ‘एमडीआरटी’ जस्ता उपलब्धिहरू निरन्तर कायम राख्न सफल भइन्।
उनका अनुसार, बीमा पेशा मेहनतअनुसार प्रतिफल दिने क्षेत्र हो। “यो पेशामा काम अनुसार आम्दानी, सम्मान र दीर्घकालीन सम्बन्ध तीनै कुरा प्राप्त हुन्छन्,” उनी भन्छिन्।
उपलब्धिसँगै भावनात्मक चुनौतीहरू
बीमा यात्रा केवल सफलताले मात्र भरिएको हुँदैन। यसमा निराशा र भावनात्मक पीडा पनि जोडिएको हुन्छ। कहिलेकाहीँ ग्राहकहरूको व्यवहारले मन दुखाउने अनुभव पनि उनले गरेकी छन्।
उनी भन्छिन्, “हामी दिनरात मेहनत गर्छौं, उनीहरूको भलाइका लागि काम गर्छौं, तर कहिलेकाहीँ त्यसको कदर हुँदैन र अभिकर्तालाई नकारात्मक दृष्टिले हेरिन्छ। त्यतिबेला निकै दुख लाग्छ।”
तर उनले यस्ता अनुभवलाई बोझ बनाएर राखिनन्। “सबै कुरा मनमा राखिरहँदा अगाडि बढ्न गाह्रो हुन्छ,” भन्ने उनको जीवन दर्शन छ।
परिवारको साथ बन्यो सफलताको मेरुदण्ड
सरस्वतीको सफलतामा परिवारको साथ अत्यन्त महत्वपूर्ण छ। विशेषगरी उनी आफ्ना ससुराप्रति निकै कृतज्ञ छिन्। “म आज जुन स्थानमा छु, त्यो उहाँको माया, विश्वास र सहयोगका कारण सम्भव भएको हो, मेरो सुसुरा बुवालाई म युगपुरुष भनेर चिनाउन चाहन्छुँ” उनी भन्छिन्।

उनका अनुसार, परिवारको साथ बिना कुनै पनि महिलाले बाह्य क्षेत्रमा सफलता हासिल गर्न कठिन हुन्छ।
महिलाहरूका लागि सन्देश
सरस्वती गौतमको कथा केवल व्यक्तिगत सफलता नभई धेरै महिलाहरूका लागि प्रेरणादायी उदाहरण हो। उनी भन्छिन्, “जीवनमा खाली हुनु भनेको अन्त्य होइन, नयाँ सुरुवातको अवसर हो।”
विशेषगरी बेरोजगार भएर बसेका वा केही गर्न नसकेको महसुस गर्ने महिलाहरूलाई उनी सन्देश दिन्छिन्, “आत्मग्लानीमा बस्नुभन्दा केही सुरु गर्नुहोस्। सानो कदमबाटै ठूलो यात्रा सुरु हुन्छ, र बाटो विस्तारै खुल्दै जान्छ।”
उनका अनुसार, बीमा क्षेत्र केवल आम्दानीको माध्यम मात्र होइन, मानिसहरूको जीवन सुरक्षित बनाउने जिम्मेवारी पनि हो। “यो पेशाले आर्थिक मात्र होइन, सामाजिक सन्तुष्टि पनि दिन्छ,” उनले भनिन्।
सम्झनामा साथ दिने हातहरु
जीवनको यात्रामा हरेक मोडमा साथ दिने हातहरू नै सबैभन्दा बलियो आधार बन्ने गर्छन्। सरस्वती गौतमका लागि पनि यी सम्बन्धहरू केवल सम्झनामा सीमित छैनन्, उनीहरूको साथ, प्रेरणा र विश्वासले आजको सफलताको बाटो निर्माण गरेको छ। ससुराबुबाको साथ, आमाबुवाको माया, प्रभा ज्ञवाली जस्ता प्रेरणादायी व्यक्तित्वको प्रभाव, कोपिला बस्नेतको हौसला र कल्पना खड्का लगायतका शुभचिन्तकहरूको साथ—यी सबै मिलेर उनको यात्रालाई अझ मजबुत र अर्थपूर्ण बनाएका छन्।
अन्ततः, सरस्वती गौतमको यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, संघर्ष, धैर्यता र आत्मविश्वासले कसरी जीवनलाई नयाँ दिशा दिन सक्छ भन्ने ज्वलन्त उदाहरण हो। प्रारम्भिक अन्योल, असफलता र चुनौतीहरूलाई सामना गर्दै उनले आफूलाई स्थापित गरिन् र आज बीमा क्षेत्रमा एक प्रेरणादायी पहिचान बनाउन सफल भएकी छन्।
उनको कथा यस तथ्यको प्रमाण हो कि सही सोच, निरन्तर मेहनत र परिवारको साथ भए जीवनका कुनै पनि खालीपनहरूलाई नयाँ अवसरमा रूपान्तरण गर्न सकिन्छ। विशेषगरी महिलाहरूका लागि, यो कथा एउटा स्पष्ट सन्देश हो । परिस्थिति जस्तोसुकै भए पनि, आत्मविश्वास र प्रयास छ भने सफलता टाढा हुँदैन।


































