काठमाडौँ । गत साता २७०३.९६ विन्दुमा बन्द भएको नेप्से, यस साता १.०३ प्रतिशत अर्थात् २७.८४ अंक बढेर २७३१.८० विन्दुमा पुगेको छ।
यस साता भएको ५ कारोबार मध्येमा तीन कारोबार दिन नेप्से बढेर बन्द भएको छ भने दुई कारोबार दिन घटेको छ । यस साता सेन्सेटिभ इण्डेक्स ७.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८१ अंक बढेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ७ अर्ब ९९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ८ अर्ब ३२ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४.१४ प्रतिशत बढेको हो।
यस साता १३ वटा उपसमूहमध्ये ८ वटा उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.६७ प्रतिशत बढेको छ। गत साता १४०२.७१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५१.५० अंक बढेर १४५४.२१ विन्दुमा पुगेको छ।
यस साता नेप्सेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३७ लाख ८० हजार ४८० कित्ता बोनस शेयर र ५० लाख कित्ता निफ्रा ग्रीन इनर्जी डिबेञ्चर ६ प्रतिशत २०८८/८९ सूचीकृत भएको छ। यस साता भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक १८.३१ प्रतिशत बढेको छ। गत साता ९२२ रुपैयाँ ९३ पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता १ हजार ९१ रुपैयाँ ९० पैसा रहेको छ।


































