काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि यसअघि प्रस्ताव गरिएको लाभांश पूर्ण रूपमा खारेज गर्दै कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
संस्थाको सञ्चालक समितिको अघिल्लो बैठकले कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो, जसमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश समावेश थियो।
तर, पछिल्लो समय देखिएको वित्तीय अवस्था, नियामकीय प्रावधान तथा वित्तीय सूचक सुदृढ बनाउने आवश्यकताका कारण उक्त प्रस्ताव कार्यान्वयन गर्न नसकिने अवस्था बनेको संस्थाले जनाएको छ।
यसपछि जेठ ८ गते बसेको सञ्चालक समितिको अर्को बैठकले पूर्व निर्णय संशोधन गर्दै चालु आवका लागि बोनस र नगद दुवै प्रकारका लाभांश नदिने निष्कर्ष निकालेको हो।
संस्थाले यो निर्णय दीर्घकालीन वित्तीय स्थायित्व र संस्थागत मजबुतीलाई प्राथमिकता दिँदै बाध्यतावश गरिएको स्पष्ट पारेको छ। साथै, यसबाट सेयरधनी तथा लगानीकर्तामा पर्न गएको असरप्रति दुःख व्यक्त गर्दै भविष्यमा संस्थालाई अझ सुदृढ बनाउने प्रतिबद्धता समेत जनाएको छ।

































