National life

६ अर्ब लागतमा रुपन्देहीमा आधुनिक डिपो बन्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ भदौ २०८२, बिहिबार
410Shares
६ अर्ब लागतमा रुपन्देहीमा आधुनिक डिपो बन्ने
ncell

काठमाडौँ । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब ६ अर्ब लागतमा आधुनिक सुविधा सम्पन्न नयाँ इन्धन डिपो निर्माण गर्ने भएको छ।

हाल सञ्चालनमा रहेको भलबारीस्थित डिपो साँघुरो, घनाबस्ती बीचमा र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले सो क्षेत्रमा करिब साढे २५ बिघा क्षेत्रफलमा नयाँ डिपो निर्माण गर्न लागिएको हो।

कुल रु पाँच अर्ब ७९ करोड ३० लाख (करबाहेक) लागतमा उक्त डिपो निर्माण गरिनेछ। काठमाडौँ विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागले बुधबार निगमलाई उक्त डिपोको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० हस्तान्तरण गरेको छ।

Royal Enfield
nic asia capital

सो डिपोमा कुल १८ हजार छ सय ८८ किलोलिटर इन्धन भण्डारण गर्न ट्याङ्क निर्माण गरिने निगमका भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए। जसअन्तर्गत डिजेल भण्डारण गर्न १३ हजार पाँच सय किलोलिटर, पेट्रोलका लागि चार हजार नौ सय ६० किलोलिटर र मट्टीतेलका लागि दुई सय २८ किलोलिटर क्षमताका भण्डारण ट्याङ्क निर्माण गरिनेछ। नयाँ बन्ने भण्डारण गृहले लुम्बिनी प्रदेशको एक महिनाको माग धान्नेछ।

डिपोभित्र अग्नि सुरक्षा प्रणालीका लागि २१ सय किलोलिटर क्षमताको दुई वटा पानी ट्यांकी निर्माण हुनेछन्। जसमा कूल चार हजार दुई सय किलोलिटर पानी भण्डारण हुनेछ। इन्धन लोडिङ सेडमा आठ वटा ’वे’ र अनलोडिङ सेडमा पनि आठ वटा ‘वे’ निर्माण हुनेछ।

पूर्ण रुपले अटोमेसनमा आधारित डिपोमा भण्डारण गृह, पेट्रोलियम पदार्थको प्रवाह तथा फायर फाइटिङ प्रणालीको पाइपिङ निर्माण, विद्युतीय कार्य, प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, बिलिङ तथा स्टोर भवन, कार्यालय प्रमुख तथा कर्मचारी आवास गृहलगायत संरचना निर्माण गरिने निगमले जनाएको छ।

असोजमा बोलपत्र आह्वान गरी मङ्सिरबाट निर्माण गरिने निगमले जनाएको छ। निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। डिपिआर हस्तान्तरण कार्यक्रममा भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख यादवले हालको भलबारी डिपो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको नरहेको तथा भण्डारण क्षमता विस्तार गर्न ठाउँ साघुँरो भएकाले रोहिणी क्षेत्रमा डिपो स्थान्तरण गर्न लागिएको जानकारी दिए।

काठमाडौँ विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागका प्रमुख डा विवेक बरालले पेट्रोलियम पूर्वाधार डिजाइन र निर्माण गर्न नेपाली इञ्जिनियर सक्षम रहेको बताए।

काठमाडौँ विश्वविद्यालयका पेट्रोलियम विज्ञ एवं निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भलबारीमै भण्डारण क्षमता विस्तार गर्ने अवस्था नरहेकाले उक्त डिपो स्थान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए।

“भलबारीमा दुईर तीन दिनको माग धान्ने भण्डारण छ, अहिले अमलेखगञ्जबाट भैरहवा इन्धन ढुवानी हुँदै आएको छ, केही कारणले राजमार्ग अवरुद्ध भएको अवस्थामा लुम्बिनी प्रदेशको आपूर्ति शृङ्खलामा प्रभाव पर्न सक्छ”, उनले भने, “भण्डारण क्षमता विस्तार गर्न नयाँ डिपो निर्माण गर्नुपरेको हो।“

निगमले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको जग्गामा नयाँ इन्धन डिपो निर्माणका लागि डिपिआर तयार गर्न गत मङ्सिरमा काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको थियो। डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकामा आयल निगमले साढे ११ बिघा जग्गा खरिद गरेको छ। सो क्षेत्रमा रहेको थप साढे ८ विधा पर्ती जग्गा निगमको स्वामित्वमा ल्याउने प्रक्रिया अघि बढेको निगमले जनाएको छ।

उक्त स्थानमा इन्धन डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकाबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ। यस्तै पर्ती जग्गा भोगचलन गरिरहेका ९७ जना स्थानीयले डिपो निर्माणका लागि आवश्यक सहयोग र समन्वयन गर्न लिखित सहमति तथा प्रतिवद्धतासमेत व्यक्त गरेको निगमले जनाएको छ।

लुम्बिनी प्रदेशमा इन्धन वितरणका लागि निगमले हाल भलवारीमा प्रादेशिक कार्यालय संचालन गरिरहेको छ। करिब साढे पाँच बिघा जमिनमा फैलिएको डिपोमा न्यून भण्डारण क्षमता रहेको छ।

हाल भलवारी डिपोमा पेट्रोलका लागि पाँच सय १९ किलोलिटर, डिजेलका लागि तीन हजार ४० किलोलिटर र मट्टितेलका लागि दुई सय ८० किलोलिटर क्षमताको भण्डारण ट्यांक रहेको छ।

वर्तमान खपत परिमाणको तुलनामा हालको भण्डारण क्षमता अत्यन्त न्यून तथा सोही स्थानमा भण्डारण क्षमता वृद्धि गर्नका लागि जग्गा अभाव भएकाले डिपो स्थान्तरण गर्नुपरेको निगमले जनाएको छ।

बुटवल–भैरहवा सडकसँगै जोडिएको र घना बस्तीको बीचमा रहेको डिपोबाट पेट्रोलियम पदार्थको कारोबार हुँदा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयले डिपो स्थानान्तरणको माग गर्दै आएका छन्।

यो समाचार शेयर गर्नुहोस्
410SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?