काठमाडौं । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण आफ्नो स्थापनाको ५६ वर्ष पूरा गरी ५७औ“ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्राधिकरणका सञ्चालकज्यूहरू,कर्मचारीहरू, बीमित, बीमक लगायत बीमा क्षेत्रसँग सम्बद्ध सबै सरोकारवालाहरूमा शुभकामना व्यक्त गर्दछु।
बीमा क्षेत्रलाई सुव्यवस्थित, नियमित, पारदर्शी तथा विश्वसनीय बनाउन, नागरिकलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन, बीमितको हक हित रक्षा गर्न, बीमकको वित्तीय स्वास्थ्यलाई बलियो बनाउन, बीमा क्षेत्रमा सुशासन कायम गर्न र मुलुकको आर्थिक विकासमा बीमा क्षेत्रको योगदान बढाउन स्थापना कालदेखि नै प्राधिकरण दृढ प्रतिबद्धताका साथ क्रियाशील रहँदै आएको छ ।
बीमालाई मानव जीवन, सम्पत्ति तथा दायित्वमा आउनसक्ने जोखिम विरुद्ध आर्थिक रक्षावरण गर्ने विश्वासिलो वित्तीय उपकरणका रूपमा लिइन्छ ।
बीमा कार्यालयहरूको विस्तार, नयाँ बीमा उपकरणहरूको प्रयोग, बीमा प्रवद्र्धन, बीमा शिक्षामा वृद्धि, बीमा मार्फत जोखिम रक्षावरणमा सबै सरोकारवालको बढ्दो सक्रियता लगायतका कारकहरूले देशमा बीमाको दायरा बढ्दै गएको छ । चालू आर्थिक वर्षको चैत मसान्त सम्ममा वैदेशिक रोजगार म्यादी जीवन बीमालेख समेत गरी कुल जनसङ†ख्याको ४४.६४ प्रतिशत बीमाको दायरामा आएको देखिएको छ । मुलुकको कुल गार्हस्थ उत्पादन (GDP) मा बीमा शुल्क सङकलनको अनुपात बढ्दै गए अनुरूप चालू आर्थिक वर्षको असार मसान्त सम्ममा GDP मा कुल बीमा शुल्क सङ†कलनको अनुपात ३.६२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । साथै, बीमा दाबी भुक्तानी, बीमा सम्बन्धी मुद्दा फछ्र्यौट र बीमा सेवा प्रवाहमा उल्लेख्य सुधार हुँदै आएको पाइन्छ ।
यद्यपि, देशमा बीमा सेवाको विस्तार अपेक्षाकृत रूपमा बढ्न सकेको छैन । बीमा गराउने परिपाटी समयानुकूल परिष्कृत हुन सकेको छैन । सरकारी नीति नियमबाट बीमालाई अनिवार्य गरिएका र सजिलो क्षेत्रबाट बीमकहरू बाहिर निस्कन नसकेको अहिलेको अवस्था छ । यस वास्तविकतालाई ध्यानमा राखी बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि बीमा कम्पनीहरू आगामी दिनमा निजी घर, सरकारी तथा सार्वजनिक भवन, निर्माण सम्पन्न भएका संरचना, सांस्कृतिक सम्पदा र सहकारी संस्थाहरू लगायत नयाँ नयाँ क्षेत्रमा पुग्नु आवश्यक रहेको देखिन्छ । बीमाको दायरा विस्तारका लागि बीमा क्षेत्रमा नवीनतम् प्रविधिमा लगानी बढाउन जरुरी देखिएको छ ।
बीमा ऐन र विगतका असल अभ्यास तथा अन्तर्राष्ट्रिय नवीनतम् असल अभ्यास समेतका आधारमा बीमा क्षेत्रलाई विकसित, सहज, पहुँचयुक्त, विश्वसनीय, प्रतिस्पर्धी, सुदृढ र गुणस्तरीय बनाउन प्राधिकरण नियामकीय भूमिकाका साथ आगामी दिनमा समेत आफ्नो कार्यलाई अझ परिष्कृत गर्दै सशक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु। बीमितको हित रक्षा गर्दै न्यून आय भएका विपन्न वर्गसम्म बीमाको पहुँच पु¥याउन, बीमा प्रतिको विश्वास अभिवृद्धि गर्न, मुलुकको आर्थिक विकासमा बीमा क्षेत्रको योगदान बढाउन, बीमकको आर्थिक अवस्थालाई सबल बनाउन, डिजिटलाइजेसन मार्फत बीमा सेवा प्रवाहको व्यवस्था गर्न र हरेक क्षेत्रमा बीमालाई अभिन्न अङ्गका रूपमा स्थापित गर्न प्राधिकरण सरकार, बीमक लगायत सरोकारवाला सबैसँग सहकार्य, सहयोग र समन्वयका साथ अगाडि बढ्न प्रतिबद्ध छ ।
अन्त्यमा, बीमा व्यवसायलाई व्यवस्थित, नियमित, स्वच्छ प्रतिस्पर्धी र विश्वसनीय बनाउने लगायत बीमा क्षेत्रको समग्र विकास एवं विस्तारका कार्यमा प्राधिकरणसँग सहकार्य, सहयोग एवं समन्वय गर्दै आएका अर्थ मन्त्रालय, विभिन्न सरकारी निकाय, वित्तीय क्षेत्रका नियमनकारी निकाय, बीमक, बीमा मध्यस्थकर्ता, विकासका साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्था र सम्बन्धित सरोकारवालाहरू लगायत सबैमा आभार प्रकट गर्दै आगामी दिनमा पनि सम्बद्ध सबैबाट निरन्तर सहयोगको अपेक्षा गर्दछु।
नेपाल बीमा प्राधिकरण ५७औ वार्षिक उत्सवको विशेषाङ्कबाट साभार

































