काठमाडौं। जेनजी आन्दोलनपछि पदबाट हटाइएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आपतकालीन अवस्थाका बेला नेपाली सेनाबाट अपेक्षित सहयोग नपाएपछि आफूले राजीनामा दिएको बताएका छन्।
अदालतसमक्ष पेश गरिएको बयानमा उनले भदौ २४ गते सेनासँग सहयोगको माग गरे पनि आवश्यक समन्वय हुन नसकेको उल्लेख गर्दै त्यसैका कारण पद त्याग गर्नुपरेको बताएका हुन्।
हाल प्रहरी हिरासतमा रहेका ओलीले सरकारी वकिलसमक्ष आरोप अस्वीकार गर्दै आफ्नो बयान दिएका छन्। उनले भदौ २३ र २४ गतेका घटनालाई राष्ट्रविरुद्धको योजनाबद्ध षड्यन्त्रको संज्ञा दिँदै प्रारम्भदेखि अन्त्यसम्म निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्।
प्रधानमन्त्रीका रूपमा गोली चलाउन आदेश दिने कानुनी अधिकार नभएको स्पष्ट पार्दै उनले घटनाप्रति दुःख व्यक्त गरेका छन्।
ओलीले शान्तिपूर्ण भनिएको आन्दोलनका क्रममा निषेधाज्ञा किन उल्लंघन गरियो र किन तनावको अवस्था सिर्जना भयो भन्ने विषयमा पनि अनुसन्धान हुनुपर्ने धारणा राखेका छन्। साथै, राज्यको सम्पत्ति जलाउने, भीड उक्साउने लगायतका गतिविधिमा संलग्न जोसुकै भए पनि निष्पक्ष रूपमा कारबाही हुनुपर्ने उनको भनाइ छ।
आफ्नो अभिव्यक्ति र काम राष्ट्रहितमा केन्द्रित रहँदा विभिन्न स्वार्थ समूहबाट अनावश्यक आरोप खेप्नुपरेको र त्यसकै कारण आफूलाई पदबाट हटाइएको दाबी समेत उनले गरेका छन्।


































