काठमाडौँ । आज बिहान बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बरको बोलेरो जीप दुर्घटना भएको छ ।
दुर्घटनामा परि रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढासहित ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका नायव उपरीक्षक विजय यादवका अनुसार सोही ठाउँका २९ वर्षीय प्रेम बहादुर पुन भने घाइते भएका छन्। उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ। ‘उक्त दुर्घटनामा परी गाउँपालिका उपाध्यक्ष बुढाको पनि निधन भएको पुष्टि भएको छ,अरूको पहिचान भइसकेको छैन,’
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार रुकुम पूर्वका संघीय सांसद पूर्णबहादुर घर्तीका अनुहार गाउँपालिका उपाध्यक्ष काठमाडौँमा आमासहित परिवारलाई भेट्न आएकी थिइन्। परिवारलाई भेटेर गाउँ फर्किँदै गर्दा दुर्घटनामा परी बाटोमै उनी अस्ताइन।
बुढाले दुई दिन अगाडि मात्र आफ्नो बिरामी आमासँगको फोटो फेसबुकमा हालेकी थिइन्। आमासहितको फोटोमा उनले लेखेकी थिइन्, ''आमा शब्द नै कति महान् छ। हजुरलाई स्वास्थ्य लाभको कामना आमा।''
दुर्घटनाको कारण र समय कतिबेला भएको भन्ने समेत खुलेको छैन। आज बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घटनाग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको बताए । ‘गाउँपालिका उपाध्यक्षको मृत्यु भएको पुष्टि भएको छ । अरूको भने सनाखत हुन बाँकी छ,’ उनले भने ।
अप्ठेरो भिरमा गाडी दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको थियो । त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि खटाइएको थियो ।



































