काठमाडौँ ।सरकारले लामो समयदेखि आन्दोलनरत उखु किसानहरूलाई प्रोत्साहन, अनुदान बापतको रकम निकासा गरेको छ।
अर्थ मन्त्रालयले किसानको अनुदान बापतको ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो। निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को बैठकले यस पटक उखु किसानलाई प्रतिक्विन्टल ३५ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । यही रकम आउन ढिलाइ भएको कारण उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
यसअघि उखु किसानहरूले प्रतिक्विन्टल ७० प्रोत्साहन स्वरूप पाउँदै आएका थिए। कृषि मन्त्रालयले उखु किसानलाई यति नै रकम उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भए पनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा ३५ उपलब्ध गराउने निर्णय भएको थियो।
यसैबिच काठमाडौँमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबिच सिहंदरवारस्थित मन्त्रालयमा वार्ता भएको छ। वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी भए ।
उखु किसानका तर्फबाट श्यामबाबु रायलगायत सहभागी भए । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मङ्गलवार नै उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन समेत गरिएको छ ।






































