काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा गाडी कर्जाको मागमा गिरावट आएको छ ।
बैंकले प्रकाशन गरेको उक्त विवरण अनुसार गत आवमा गाडी कर्जाको मागमा २२ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा बैंकहरुबाट १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ बराबरको गाडी कर्जा गएको उल्लेख छ। अघिल्लो वर्ष सोही अवधिसम्म बैंकहरुबाट १ खर्ब ५९ अर्ब २० करोड रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो।
त्यस्तै, सार्वजनिक तथ्यांक अनुसार व्यावसायिक प्रयोजनका लागि लिइने गाडी कर्जाको माग समेत घटेको छ भने व्यक्ति प्रयोजनका लागि लिइने गाडी कर्जाको माग सामान्य रूपमा बढेको तथ्यांकमा उल्लेख छ। व्यक्तिगत गाडी कर्जा ०.३ प्रतिशतले बढेको देखिएको छ । अर्थात् उक्त वर्षमा बैंकहरुबाट व्यावसायिक गाडी कर्जा ८७ अर्ब २६ करोड रुपैयाँ प्रवाह भएको छ।
अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब २२ अर्ब ४८ करोड रुपैयाँ थियो। व्यावसायिक गाडी कर्जाको माग २८.८ प्रतिशतले घटेको छ। यस्तै, व्यक्तिगत प्रयोजनका लागि लिइएको गाडी कर्जा ३६ अर्ब ६८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकहरुबाट ३६ अर्ब ७१ करोड रुपैयाँ व्यक्तिगत गाडी कर्जा प्रवाह भएको थियो ।
































