काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनासम्म आइपुग्दा विकास बैंकहरूको नाफामा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार १७ वटा विकास बैंकहरूले संयुक्त रूपमा ६ अर्ब २८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका छन्।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.२३ प्रतिशतले बढी हो।
बैंकहरूको कस्ट अफ फण्ड घट्नु, कर्जा व्यवस्थापनमा सुधार आउनु, सञ्चालन खर्च नियन्त्रणमा रहनु तथा खराब कर्जा अनुपात केही बैंकहरूमा घट्नुजस्ता कारणले समग्र नाफा बढ्न सहयोग पुगेको हो।
समीक्षा अवधिमा १७ मध्ये १३ बैंक नाफामा रहेका छन् भने ४ बैंक घाटामा छन्। नाफामा रहेका सबै बैंकहरूले अघिल्लो वर्षको तुलनामा राम्रो सुधार गरेका छन्।
सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक अग्रस्थानमा छन्। गरिमाले १ अर्ब २० करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ भने मुक्तिनाथले १ अर्ब १० करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। दुवै बैंक अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन्।
गत वर्षको तुलनामा गरिमाको नाफा ३८.९५ प्रतिशत र मुक्तिनाथको २६.१८ प्रतिशतले वृद्धि भएको छ।
अन्य बैंकहरूमा शाइन रेसुङ्गाले ८९ करोड ३९ लाख, ज्योति विकास बैंकले ७२ करोड ४९ लाख, कामना सेवाले ६७ करोड २ लाख, लुम्बिनी विकास बैंकले ६३ करोड ६ लाख, सांग्रिलाले ५४ करोड ६० लाख, महालक्ष्मीले ४६ करोड ३८ लाख रुपैयाँ नाफा कमाएका छन्।
यसैगरी एक्सेल विकास बैंकले १४ करोड ६३ लाख, मितेरीले १० करोड ३५ लाख, सप्तकोशीले ५ करोड ८६ लाख, ग्रीन डेभलपमेन्टले ४ करोड ५५ लाख र कर्पोरेट विकास बैंकले २ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन्।
यता, ४ बैंक भने अझै घाटामा रहेका छन्। कर्णाली विकास बैंकले २३ करोड ९६ लाख, नारायणीले ५ करोड ४९ लाख, सिन्धुले ३ करोड ७२ लाख र सालपा विकास बैंकले ८० लाख रुपैयाँ घाटा व्यहोरेका छन्।
नाफा वृद्धिको हिसाबले लुम्बिनी विकास बैंक सबैभन्दा अगाडि देखिएको छ, जसले अघिल्लो वर्षको तुलनामा ४२८.७० प्रतिशतले नाफा बढाएको छ।



































