काठमाडौँ । नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने विकास बैंक तथा वित्त कम्पनीमाथि कडा कदम चाल्दै व्यवस्थापन तहसम्म कारबाही अघि बढाएको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा गरिएको निरीक्षणका आधारमा केन्द्रीय बैंकले विभिन्न संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक तथा संस्थामाथि कारबाही गरेको विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई सचेत गराइएको छ। समस्याग्रस्त संस्थाको सूचीबाट हटाइएपछि पनि तोकिएको एकल ग्राहक कर्जा सीमासम्बन्धी व्यवस्था उल्लंघन गर्दै कर्जा प्रवाह गरिएको पाइएपछि राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम उनलाई चेतावनी दिइएको हो।
यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल, सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई पनि सचेत गराइएको छ। स्थलगत निरीक्षणका क्रममा भल्टमा रहेको नगदमा अपचलन भएको तथा ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच देखिएको राष्ट्र बैंकले जनाएको छ।
यस्ता गम्भीर त्रुटिपछि पनि विस्तृत छानबिन गरी दोषीलाई कारबाही नगरेको र आन्तरिक नियन्त्रण प्रणाली सुधार नगरेको भन्दै बैंक व्यवस्थापन र सञ्चालक समितिलाई चेतावनी दिइएको हो। राष्ट्र बैंकले वित्तीय संस्थामा प्रभावकारी आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन र सुशासन कायम गर्न व्यवस्थापन तथा सञ्चालक समितिको भूमिका निर्णायक हुने उल्लेख गरेको छ।
उक्त अवधिमा रिलायन्स फाइनान्स लिमिटेडलाई भने अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै जरिवाना गरिएको छ। २०८२ फागुन १० देखि २०८३ वैशाख ५ गतेसम्म तोकिएको मौज्दात कायम नगरेकाले २ हजार ९२४ रुपैयाँ ४८ पैसा जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।
































