काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारमा संकुचन देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ वित्त कम्पनी गरी ५४ संस्थाको कुल कर्जा प्रवाह ५९ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
यो रकम असार मसान्तको तुलनामा ७ अर्ब ४५ करोड रुपैयाँ अर्थात् ०.१३ प्रतिशत कम हो।
यद्यपि, वार्षिक आधारमा भने कर्जा विस्तार सकारात्मक देखिएको छ। २०८२ साउनमा ५५ खर्ब ९१ अर्ब ६० करोड रुपैयाँ रहेको कुल कर्जा एक वर्षमा ८.२१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
क्षेत्रगत रूपमा हेर्दा साउनमा विद्युत्, ग्यास तथा जलविद्युत् क्षेत्रमा कर्जा विस्तार उल्लेख्य देखिएको छ। यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा ५ खर्ब १८ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। असारको तुलनामा ४ अर्ब ९३ करोड रुपैयाँ बढेको यो कर्जा एक वर्षमा १८.५१ प्रतिशतले वृद्धि भएको हो।
निर्माण क्षेत्रमा पनि कर्जा बढेको छ। साउन मसान्तमा यस क्षेत्रमा २ खर्ब ७९ अर्ब ९६ करोड रुपैयाँ कर्जा पुगेको छ। मासिक वृद्धि २.०६ प्रतिशत र वार्षिक वृद्धि ११.३९ प्रतिशत रहेको छ।
कृषि, वन, पेय पदार्थ तथा गैरखाद्य उत्पादनसम्बन्धी क्षेत्रमा कर्जा ९ खर्ब ७७ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यो असारको तुलनामा ०.२६ प्रतिशत र एक वर्षमा ८.३२ प्रतिशतले बढेको हो।
थोक तथा खुद्रा व्यापारतर्फको कर्जा पनि बढेर १० खर्ब २३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। साउनमा ०.३० प्रतिशतले बढेको यस क्षेत्रको कर्जा वार्षिक रूपमा भने ३.३७ प्रतिशतले मात्रै विस्तार भएको छ।
साउनमा उपभोक्ता कर्जामा भने कमी आएको छ। असारमा १३ खर्ब ५७ अर्ब ३६ करोड रुपैयाँ रहेको उपभोक्ता कर्जा साउनमा १३ खर्ब ४९ अर्ब ९ करोड रुपैयाँ मा झरेको छ। मासिक रूपमा ०.६१ प्रतिशत घटे पनि वार्षिक आधारमा भने यस्तो कर्जा १३.६२ प्रतिशतले बढेको छ।
वित्त, बीमा तथा रियल इस्टेट क्षेत्रमा पनि कर्जा घटेको छ। असारको ४ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँबाट साउनमा यस्तो कर्जा ४ खर्ब ३९ अर्ब १५ करोड रुपैयाँ मा सीमित भएको छ। मासिक कमी ५.१२ प्रतिशत भए पनि वार्षिक आधारमा भने ११.२० प्रतिशत वृद्धि भएको छ।
पर्यटन क्षेत्रमा भने कर्जा विस्तार भएको छ। साउन मसान्तसम्म पर्यटन सेवातर्फको कर्जा २ खर्ब ८२ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यो असारको तुलनामा ०.६२ प्रतिशत र एक वर्षअघिको तुलनामा ११ प्रतिशत बढी हो।
यातायात, सञ्चार तथा सार्वजनिक उपयोगिताका क्षेत्रमा कर्जा ८७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। साउनमा २.०५ प्रतिशत वृद्धि भए पनि वार्षिक आधारमा यस क्षेत्रमा कर्जा ५.९१ प्रतिशतले घटेको छ।
धातुजन्य उत्पादन, मेसिनरी तथा विद्युतीय उपकरण र एसेम्बली क्षेत्रमा कर्जा ७६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। असारको तुलनामा २.९५ प्रतिशत र वार्षिक रूपमा ३.९६ प्रतिशतले वृद्धि भएको छ।
अन्य सेवा क्षेत्रमा बैंकहरूको कर्जा २ खर्ब ३६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। यो एक महिनामा ३.२४ प्रतिशत र वार्षिक रूपमा १०.२३ प्रतिशतले बढेको हो। स्थानीय सरकारतर्फको कर्जा पनि सामान्य बढेर ११ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
यसैबीच कृषि तथा वनसम्बन्धी क्षेत्रमा कर्जा ३ खर्ब ४६ अर्ब ३ करोड रुपैयाँ मा झरेको छ। असारको तुलनामा १ प्रतिशत र वार्षिक आधारमा २.७ प्रतिशतले घटेको हो। मत्स्यपालन क्षेत्रमा पनि कर्जा ०.७४ प्रतिशतले घटेर १६ अर्ब १ करोड रुपैयाँमा सीमित भएको छ।
खनिज क्षेत्रमा भने कर्जा बढेको छ। साउन मसान्तमा यस क्षेत्रमा १२ अर्ब ५१ करोड रुपैयाँ कर्जा पुगेको छ। असारको तुलनामा ३.६६ प्रतिशत वृद्धि भए पनि वार्षिक आधारमा १.२० प्रतिशतले कमी आएको छ।
राष्ट्र बैंकको तथ्यांकले समग्रमा वार्षिक कर्जा विस्तार सकारात्मक रहे पनि चालु आर्थिक वर्षको सुरुवातमै मासिक आधारमा कर्जा घटेको देखाएको छ। यसले बैंकिङ प्रणालीमा नयाँ कर्जा प्रवाहको गति अझै कमजोर रहेको संकेत गर्छ।




































