काठमाडौं । बैंकिङ क्षेत्रमा सुधारको संकेत देखिँदै जाँदा चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको नाफा उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २० वटा वाणिज्य बैंकहरूले १० महिनाको अवधिमा कुल ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १८.१६ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए।
समीक्षा अवधिमा सबैभन्दा ठूलो उछाल कुमारी बैंकको नाफामा देखिएको छ। बैंकको नाफा अघिल्लो वर्षको ४८ करोड रुपैयाँबाट झण्डै ८ गुणा बढेर ४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ, जुन करिब ८३३ प्रतिशतको वृद्धि हो।
कुल नाफाको हिसाबले भने नबिल बैंक अग्रस्थानमा रहेको छ। नबिलले ७ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी नाफा कमाउँदै शीर्ष स्थान कायम राखेको छ। यसको नाफा अघिल्लो वर्षको तुलनामा करिब ७.६ प्रतिशतले बढेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार २० बैंकमध्ये १३ वटा बैंकले नाफा बढाएका छन् भने ७ वटा बैंकको नाफा घटेको छ। नाफा वृद्धि गर्ने बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक लगायत रहेका छन्।
त्यसैगरी, नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि मध्यम दरमा नाफा वृद्धि गरेका छन्।
तर सबै बैंकको अवस्था समान छैन। केही बैंकहरूको नाफा भने घटेको छ। प्रभु बैंकको नाफा सबैभन्दा धेरै घटेको देखिएको छ, जसको नाफा करिब ४२ प्रतिशतले खस्किएको छ।
यसैगरी, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंकको नाफा पनि अघिल्लो वर्षको तुलनामा घटेको छ।
समग्रमा बैंकिङ क्षेत्रमा नाफा वृद्धि भए पनि सबै बैंकमा समान प्रभाव नदेखिएको राष्ट्र बैंकको तथ्यांकले संकेत गरेको छ। बजारको अवस्था, कर्जा प्रवाह, ब्याजदर र सञ्चालन खर्चजस्ता पक्षहरूले बैंकहरूको नाफामा फरक–फरक असर पारेको देखिन्छ।
































