काठमाडौं । कर्जा असुलीमा समस्या बढ्दै जाँदा वाणिज्य बैंकहरूमा थुप्रिने गैरबैंकिङ सम्पत्ति (एनबीए) ४५ अर्ब नाघेको छ, जसले बैंकिङ क्षेत्रमै दबाब बढाएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनासम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४५ अर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार वैशाखसम्म यस्तो सम्पत्ति ४५ अर्ब ९९ करोड ५० लाख रुपैयाँ पुगेको छ।
कर्जा उठ्न नसक्दा निष्क्रिय कर्जा (एनपीएल) समेत बढ्दै गएको छ, जसले बैंकहरूको सम्पत्ति व्यवस्थापनलाई झन् जटिल बनाएको छ।
निष्क्रिय कर्जा बढेसँगै बैंकहरूमा गैरबैंकिङ सम्पत्ति थुप्रिने प्रवृत्ति बढेको छ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये करिब एक दर्जन बैंकमा यस्तो सम्पत्ति बढेको छ भने केही बैंकहरूले घटाउन सफल भएका छन्। हिमालयन बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै रहेको छ, जुन करिब १८ प्रतिशतले बढेर ६ अर्बभन्दा माथि पुगेको छ।
त्यस्तै, प्राइम कमर्सियल बैंकमा प्रतिशतका आधारमा सबैभन्दा बढी वृद्धि देखिएको छ भने माछापुच्छ्रे बैंक र एभरेष्ट बैंकले आफ्नो गैरबैंकिङ सम्पत्ति घटाएका छन्। नेपाल बैंकको यस्तो सम्पत्ति भने सबैभन्दा कम रहेको छ।
































