काठमाडौँ । अब वित्तीय ठगीमा संलग्न भएको आशंका लागेमा बैंक खाता तत्कालै रोक्का हुन सक्ने भएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङमार्फत बढ्दो अपराध नियन्त्रण गर्न नयाँ निर्देशन जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो।
नयाँ व्यवस्थाअनुसार कुनै पनि अनुसन्धान निकाय वा कानुन कार्यान्वयन गर्ने अधिकारीको अनुरोध प्राप्त हुनासाथ बैंक तथा वित्तीय संस्थाले सम्बन्धित खाता तुरुन्तै अस्थायी रूपमा रोक्का गर्नुपर्नेछ। यसले पीडितको रकम जोगाउन र अपराधीलाई उम्किन नदिन सहयोग गर्ने अपेक्षा गरिएको छ।
यसलाई प्रभावकारी बनाउन सबै बैंकलाई २४सै घण्टा सक्रिय रहने छुट्टै इकाइ वा कर्मचारी व्यवस्था गर्न अनिवार्य गरिएको छ। साथै, आकस्मिक समन्वयका लागि बैंकहरूले आफ्नो वेबसाइटमा विशेष सम्पर्क नम्बर राख्नुपर्नेछ।
अनुसन्धानका क्रममा माग गरिएका विवरण तथा बैंक स्टेटमेन्ट ढिलासुस्ती नगरी उपलब्ध गराउन पनि निर्देशन दिइएको छ। केन्द्रीय बैंकको यो कदमले डिजिटल ठगी तथा वित्तीय अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।































