काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन सम्बन्धी सम्झौता भएको छ।
बुधबार सम्पन्न सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट निर्देशक नवराज खड्का र एभरेष्ट बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार बैंकका स्थायी, अस्थायी तथा करार सेवामा रहेका कर्मचारीहरूको उपदान कोष तथा अतिरिक्त अवकाश कोष व्यवस्थापनको जिम्मा कोषले लिनेछ। यस अन्तर्गत योगदानमा आधारित वा गैर–योगदानमा आधारित कोषको सञ्चालन तथा व्यवस्थापन कार्य कोषमार्फत गरिनेछ।
कोषले कर्मचारीहरूको व्यक्तिगत खाता खोल्ने, परिचयपत्र उपलब्ध गराउने तथा बैंकबाट प्राप्त विवरण अनुसार खाताहरू अद्यावधिक गर्नेछ। साथै, सेवानिवृत्त कर्मचारीलाई बैंकको सिफारिसका आधारमा नियमअनुसार कर कट्टा गरी अवकाश सुविधा भुक्तानी गर्ने व्यवस्था रहनेछ।
त्यसैगरी, कर्मचारीले कोषमा गरेको योगदानबाट प्राप्त ब्याज, प्रतिफल तथा अन्य सुविधा कोषको नियमअनुसार उपलब्ध हुनेछन्। आयकर ऐन २०५८ अनुसार स्वीकृत अवकाश कोषमा रहेका रकम तथा बक्यौता कर्जा समेत आवश्यक प्रक्रियामार्फत कोषमा स्थानान्तरण र समायोजन गरिने सम्झौतामा उल्लेख छ।


































