काठमाडौं । भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको भौतिक संरचनादेखि शाखा कार्यालयसम्म ठूलो क्षति पुर्याएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनअनुसार १२ वटा बैंकका १७ शाखा प्रभावित हुँदा बैंकिङ क्षेत्रमा ७ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।
प्रतिवेदनअनुसार बाढीबाट सबैभन्दा बढी क्षति कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा शाखामा मात्रै करिब ६५ करोड रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख छ ।
त्यस्तै, सिटिजन्स बैंकको एउटा शाखा प्रभावित हुँदा १ करोड ५६ लाख रुपैयाँको क्षति भएको छ । ग्लोबल आइएमई बैंकको एउटा शाखामा ११ लाख, हिमालय बैंकको एउटा शाखामा ७५ लाख र लक्ष्मी सनराइज बैंकको एउटा शाखामा १ करोड १२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
माछापुच्छ्रे बैंकको एउटा शाखामा ७५ लाख रुपैयाँ र नबिल बैंकको एउटा शाखामा ६३ लाख रुपैयाँको क्षति भएको छ । त्यसैगरी, एनआइसी एसिया बैंकका तीनवटा शाखा प्रभावित हुँदा ८८ लाख तथा नेपाल इन्भेष्टमेन्ट बैंकका तीनवटा शाखामा ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।
एनएमबी बैंकको एउटा शाखामा ४ लाख रुपैयाँ, प्रभु बैंकका दुईवटा शाखामा ५३ लाख रुपैयाँ र सानिमा बैंकको एउटा शाखामा ६३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनले देखाएको छ ।
बाढी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवासँग सम्बन्धित संरचनामा समेत क्षति पुगेको छ । प्रतिवेदनअनुसार नुवाकोटको विदुर नगरपालिकामा बैंकका चारवटा शाखामा गरी ६७ करोड १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ११ वटा शाखामा ४ करोड २३ लाख रुपैयाँ, कालिका गाउँपालिकामा एउटा शाखामा २८ लाख रुपैयाँ र उत्तरगया गाउँपालिकामा एउटा बैंकको शाखामा ७५ लाख रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख छ ।
यसका अतिरिक्त बैंकिङ क्षेत्रसँग सम्बन्धित अन्य संरचना तथा सम्पत्तिमा १९ करोड ५९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनले देखाएको छ । यसमध्ये नुवाकोटको विदुरमा ६ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा ९ करोड ५३ लाख, कालिका गाउँपालिकामा ७९ लाख र उत्तरगया गाउँपालिकामा ३ करोड २३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रतिवेदनले बाढीबाट बैंकका शाखा कार्यालयसँगै बैंकिङ सेवा सञ्चालनका लागि आवश्यक भौतिक संरचना तथा अन्य सम्पत्तिमा समेत उल्लेख्य क्षति पुगेको देखाएको छ ।

































