काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अवस्था र बजार गतिविधिमा आएको परिवर्तनसँगै बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तरबैंक कारोबारमा उल्लेख्य गिरावट देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा अन्तरबैंक कारोबार ९ खर्ब ७९ अर्ब ४१ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ खर्ब ४१ अर्ब १३ करोड रुपैयाँले कम हो।
गत वर्षको पहिलो १० महिनामा यस्तो कारोबार १६ खर्ब २० अर्ब ५४ करोड रुपैयाँभन्दा बढी रहेको थियो।
वाणिज्य बैंकहरूको कारोबार पनि यस अवधिमा उल्लेख्य रूपमा घटेको छ।
विकास बैंक र वित्त कम्पनीहरूको कारोबारसमेत घटेर १ खर्ब ४४ अर्ब ५५ करोड रुपैयाँमा सीमित भएको छ।
राष्ट्र बैंकका अनुसार चालु आवको माघ महिनामा सबैभन्दा बढी १ खर्ब ६५ अर्ब ९३ करोड रुपैयाँको अन्तरबैंक कारोबार भएको थियो।
ब्याजदर संरचनामा पनि सामान्य गिरावट देखिएको छ। अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर ३.०० प्रतिशतबाट घटेर २.७५ प्रतिशतमा झरेको छ भने ९१ दिने ट्रेजरी बिलको दर पनि २.६३ प्रतिशत कायम भएको छ।
यसैगरी, बैंकहरूको आधार दर, निक्षेप र कर्जाको औसत ब्याजदरमा पनि अघिल्लो वर्षको तुलनामा गिरावट आएको राष्ट्र बैंकले जनाएको छ।
































