काठमाडौं । नियामकीय मापदण्ड उल्लंघन गर्ने ६ लघुवित्त वित्तीय संस्थामाथि नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ। पुँजीकोष नपुगेका चार लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाहीमा राखिएको छ भने अनिवार्य नगद मौज्दात कायम नगरेका दुई संस्थालाई नगद जरिवाना गरिएको छ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेपछि फरवार्ड लघुवित्त, धौलागिरी लघुवित्त, मातृभूमि लघुवित्त र एनआईसी लघुवित्त कारबाहीमा परेका हुन्।
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा फरवार्ड लघुवित्तको न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत, धौलागिरी लघुवित्तको ६.३८ प्रतिशत, मातृभूमि लघुवित्तको ४.०८ प्रतिशत र एनआईसी लघुवित्तको ६.३९ प्रतिशत थियो।
नियामकीय मापदण्डअनुसार न्यूनतम पुँजीकोष कायम गर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ बमोजिम ती संस्थामाथि कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै वीन नेपाल लघुवित्त वित्तीय संस्था र सञ्जीवनी लघुवित्त वित्तीय संस्था नगद जरिवानामा परेका छन्।
काभ्रेपलाञ्चोकको बनेपास्थित वीन नेपाल लघुवित्तलाई २०८२ चैतमा पहिलो पटक अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै ५६ हजार ३८० रुपैयाँ जरिवाना गरिएको छ।
त्यस्तै, दाङको तुलसीपुरस्थित सञ्जीवनी लघुवित्तलाई २०८२ चैत, २०८३ वैशाख, जेठ र असारमा अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै पटक–पटक जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।
सञ्जीवनीलाई चैतमा ७१ हजार ३८० रुपैयाँ, वैशाखमा १ लाख ६ हजार ७४० रुपैयाँ, जेठमा १ हजार ४१२ रुपैयाँ ९१ पैसा र असारमा १ हजार ४१० रुपैयाँ ७८ पैसा जरिवाना गरिएको छ।
यससँगै राष्ट्र बैंकले लघुवित्त संस्थाहरूले न्यूनतम पुँजीकोष र अनिवार्य नगद मौज्दातजस्ता आधारभूत नियामकीय व्यवस्था पालना गर्नुपर्नेमा थप कडाइ गरेको देखिएको छ।





































