विराटनगर। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै चालू वर्षको तुलनामा करिब १२.७४ प्रतिशतले वृद्धि भएको बजेट घोषणा गर्नुभयो।
कुल बजेटमध्ये चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख, वित्तीय व्यवस्थापनतर्फ १५ करोड र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
प्रदेशले बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्व, राजस्व बाँडफाँड र संघीय अनुदानलाई प्रमुख स्रोतका रूपमा राखेको छ। आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड र वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।
त्यसैगरी सशर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान, रोयल्टी तथा अन्य स्रोतबाट समेत गरी कुल अपुग रकम नगद मौज्दातबाट व्यवस्थापन गरिने उल्लेख छ।
पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै भौतिक संरचनाका लागि १२ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ। कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा सामाजिक विकास क्षेत्रलाई पनि बजेटमा प्राथमिकताका साथ समेटिएको छ।
शिक्षा तथा सामाजिक विकासतर्फ डिजिटल शिक्षा, अपाङ्गता सहायता, विशेष कार्यक्रम तथा प्राविधिक विश्वविद्यालयका लागि बजेट छुट्याइएको छ। साथै पर्यटन प्रवर्द्धन, सूचना प्रविधि विस्तार, खेलकुद पूर्वाधार र विपद् व्यवस्थापनलाई पनि विशेष प्राथमिकतामा राखिएको छ।
प्रदेश सरकारले सेवा प्रवाह सुधार र प्रशासनिक प्रभावकारिता बढाउन आइतबारको सार्वजनिक बिदा पुनरावलोकन गर्ने नीति समेत अघि सारेको छ।


































