काठमाडौं । नेपाल राष्ट्र बैंकलाइ डेभलपमेन्ट बैंकर्स एशोसिएसनले नौ बुँदे सुझाव दिएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको मौद्रिक नीतिमा डेभलपमेन्ट बैंकर्स एशोसिएसनले नौ बुँदे सुझाव दिएको हाे ।
एक पटकका लागि निश्चित समय तोकेर हकप्रद सेयर निष्कासन गर्न दिन एशोसिएसनले माग गरेको छ । यस्तै विकास बैंकले पनि स्थानीय निकायमा रहेको निक्षेपलाई सहज संकलन गर्न सक्ने व्यवस्था मिलाउन सुझाव दिएको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले तिर्ने गरेको तेस्रो पक्षीय लागत ग्राहकहरूबाट असूली गर्न अनुमति दिने व्यवस्था मिलाउन एशोसिएसनले सुझाव दिएको छ ।
संघले वित्तीय उद्योगको समग्र स्वास्थ्यमा सुधारको क्रममा रहेको भएपनि विगतका वर्षहरूको तुलनामा अवस्था अझै सहज नभएको भन्दै वित्तीय संस्था ध्वस्त हुने सम्भावनालाई ध्यानमा राखेर निक्षेपको बीमामा लाग्ने शुल्क घटाउनसमेत सुझाव दिएको छ । त्यस्तै वाणिज्य बैंकहरूले दिने क्रेडिट लोन १ करोडको सीमा हटाउन वा परिमार्जन गर्न सुझाव दिएको छ । ऋणपत्र र सरकारी धितोपत्रको ब्याजलाई स्प्रेडको गणनाको अनुमति दिन पनि संघले सुझाव दिएको छ ।
त्यस्तै असल कर्जा प्रोभिजनको प्रावधान १.३ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झार्न, कोर पुँजीको १ प्रतिशतको सीमा बढाएर कोर पूँजीको ५ प्रतिशतसम्म पुर्याउन संघले सुझाव दिएको छ ।
































