काठमाडाैं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्दैछ । राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हाे ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
केन्द्रीय बैंकले भदौ १२ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो ।
राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ र ९१ दिनका लागि ७ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ । यी ट्रेजरी बिल क्रमशः असोज ९ गते र मंसिर १२ गते परिपक्व हुनेछन् ।
यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।
































