काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २० अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ऋणपत्र जारी गर्ने तयारी गरेको छ। ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (च)’ नाम दिइएको उक्त साधन अनलाइन बोलकबोल प्रक्रियाबाट निष्कासन गरिनेछ।
यस ऋणपत्रको अवधि एक वर्ष रहनेछ र यसको मूलधन भुक्तानी २०८४ असार २४ गते हुनेछ। ब्याज भने अर्धवार्षिक रूपमा प्रदान गरिने व्यवस्था गरिएको छ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरूले ब्याजदर प्रस्ताव गर्दै प्रतिस्पर्धात्मक रूपमा बोलकबोल गर्न सक्नेछन्, जहाँ बहुब्याजदर प्रस्ताव गर्न पनि अनुमति रहनेछ।
केन्द्रीय बैंकका अनुसार प्राप्त प्रस्तावहरूलाई न्यून ब्याजदरदेखि उच्चसम्म क्रमबद्ध गरी आवश्यक रकमसम्मको कट-अफ दर निर्धारण गरिनेछ। सोही दरलाई एकल ब्याजदरका रूपमा कायम गरी उक्त दर वा सोभन्दा कम प्रस्ताव गर्ने सहभागीलाई ऋणपत्र उपलब्ध गराइनेछ।
बोलकबोल प्रक्रिया आज दिउँसो ३ बजे अनलाइनमार्फत सम्पन्न हुने जनाइएको छ।































