काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडा अनुसार बैंकिङ प्रणालीको निक्षेप संकलन एकै दिन १४ अर्ब रुपैयाँले घटेको छ । साउन ८ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ३५ अर्ब रहेको छ ।
गत साउन ७ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ४९ अर्ब बराबरको निक्षेप थियो । यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि १३ अर्बले घटेको छ।
अन्य वित्तीय संस्थाको निक्षेप भने १ अर्बले घटेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब ३३ अर्बबाट घटेर ७ खर्ब ३२ अर्बमा झरेको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा समेत गिरावट आएको राष्ट्र बैंकले सार्वजनिक गरेको आकडामा उल्लेख छ ।
साउन ८ गतेसम्म बैंकिङ प्रणालीबाट ५१ खर्ब ३८ अर्ब बराबरको कर्जा प्रवाह भएको छ। साउन ७ गतेसम्म भने बैंक तथा वित्तीय संस्थाबाट ५१ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो । सीडी रेसियोमा केही सुधार आएको छ। सीडी रेसियो ७८.११ प्रतिशतबाट बढेर ७८.१५ प्रतिशत कायम भएको छ ।
































