काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकले ८४ करोड २१ लाख ९० हजार रुपैयाँ नाफा कमाएका छन् । चालु आवको पहिलो महिनामा सञ्चालनमा रहेका राष्ट्रिय स्तरका आठ वटा विकास बैंकले ८४ करोड २१ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक रहेको छ । गरिमा विकास बैंकले साउनमा २४ करोड ९५ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकले साउन मसान्तमा १६ करोड ८० लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
कामना सेवा विकास बैंकले साउनमा ८ करोड १३ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस्तै लुम्बिनी विकास बैंकले ७ करोड ९१ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । महालक्ष्मी विकास बैंकले ७ करोड ८५ लाख ८० हजार, शाइन रेसुङ्गा विकास बैंकले ७ करोड १९ लाख २० हजार, सांग्रिला विकास बैंकले ५ करोड ६५ लाख २० हजार रुपैयाँ र ज्योती विकास बैंकले ५ करोड ७० लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
































