काठमाडौं : बजारमा अधिक तरलताको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
आज शुक्रबार चैत ९ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले एक सूचना मार्फत जानकारी दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नुपर्ने छ । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
केन्द्रिय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति चैत ३० गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।
































