काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सरकारी ऋण ९४ अर्ब ५२ करोड थप भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको एक विवरण अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५ खर्ब २८ अर्ब ६२ करोड बराबर पुगेको हो ।
हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४.३२ प्रतिशत बराबर हो।
जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २१.६६ प्रतिशत बराबर हो। यो दुई महिनामा सरकारले ९० अर्ब आन्तरिक ऋण उठाउँदा ३५ अर्ब बराबर ऋण तिरेको छ। त्यस्तै, भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड छ । चालु आवको सुरुआतमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड बराबर थियो।
पछिल्लो दुई महिनामा सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा १४ अर्ब पाँच करोड खर्च गरेको छ भने यही अवधिमा चार अर्ब ६७ करोड बराबर बाह्य ऋण थपेको छ । चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा भदौ मसान्तसम्ममा एक खर्ब चार अर्ब पाँच करोड ऋण उठाइसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति १८.६६ प्रतिशत बराबर हो। चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब दुई अर्ब बजेट छुट्टाएको छ।


































