काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा पहिले झैँ घण्टौँको समय लगाएर लाइन बस्नुपर्ने झन्झटको बिस्तारै अन्त्य हुँदै गएको छ । पछिल्लो समय क्यूआरको प्रयोग गर्नेको सङ्ख्या बढेसँगै लाइन बस्नुपर्नेहरुको सङ्ख्यामा कमी आउँदै गएको हो ।
पछिल्लो समय ठुला व्यापारिक क्षेत्रमा मात्रै होइन सामान्य पसलहरूमा पनि क्युआर कोर्डको प्रयोग अत्यधिक मात्रामा भइरहेको छ। विद्युतीय माध्यमबाट हुने यो कारोबारका फाइदा पनि निकै धेरै रहेका छन्।
क्यूआरको प्रयोगको कारण पहिलो कुरा त नगद बोक्नु पर्ने बाध्यताको अन्त्य भएको छ । जुन यो प्रविधिको सबैभन्दा ठूलो फाइदा हो । साथै, यसको प्रयोगले नोट धुलो–मैलो हुने समस्याबाट पनि बचाउँछ। यसले उपभोक्ता र सेवा प्रदायक दुवैको समय बचत गर्छ । यो प्रणालीको प्रयोगले केही सेकेन्डमै पैसा लेनदेन हुन्छ, जसले समय बचाउँछ ।
यो प्रणालीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुन्छ । यसमा लुकीछिपी कोही–कसैले दुई नम्बरी काम गर्ने सम्भावनै हुँदैन । यसमा तपाईँले गरेको कारोबार रेकर्डमै देखिन्छ । कोभिडका कारण हामीले जुन समस्या भोग्नुपर्यो, त्यसको हल यही प्रविधिको प्रयोगमा छ ।
पछिल्लो केही समय क्यूआर मार्फत पैसा आदान प्रदान गर्दा लाग्ने अतिरिक्त शुल्क बढी भएको भन्दै आलोचना चलेपछि सरकारले उक्त विषयको समेत चाडै निष्कर्ष खोज्ने बताएको छ ।

































