काठमाडाैं । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाल राष्ट्र बैंकको गलत नीतिका कारण उद्योग व्यवसाय क्षेत्र समस्यामा परेकाे बताएका छन् । मंगलबार विराटनगरमा अन्तर्राष्ट्रिय वित्त नियोगको आयोजनामा प्रदेश तहका निजी क्षेत्रसँग आयोजित राउण्ड टेबल कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।
उनले राष्ट्र बैंकको गलत नीतिले उत्पन्न भएको बैंक ब्याजदर लगायतका समस्याले मुलुकको उद्योग व्यवसाय क्षेत्र समस्यामा फसेको बताए ।
उनले भने, ‘नेपालमा औधोगिकीकरणको आधुनिक इतिहास विराटनगरबाट सुुरु भएको मानिन्छ, त्यसको प्रस्थानविन्दु विराटनगर जुट मिलको स्थापना नै हो, त्यसपछि खुलेका उद्योगधन्दाले विराटनगर र आसपासका क्षेत्रको आयस्तर बृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याएको छ, तर पछिल्लो पटक उद्योगी व्यवसायीले राष्ट्र बैंकको नीतिका कारण ठूलो समस्या खेप्नु परेको छ ।’
अध्यक्ष राउतले चर्को लोडसेडिङ, भारतको नाकाबन्दी लगायतका राजनीतिक अस्थिरताले थलिएर केही अघि बढेको निजी क्षेत्र कोभिड–१९ को महामारी, रुस र युक्रेन युद्धबाट झनै प्रभावित बनेको बताए । उनले यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकको नीतिका कारण बैंकको व्याजदर लगायतका थप समस्याले निजी क्षेत्र नै संकटमा पुगेको र मुलुकमा आर्थिक संकट उत्पन्न भएको बताए ।
संकटका कारण अहिले अहिले ६० प्रतिशत हाराहारीमा मात्रै उद्योगधन्दाहरु संचालनमा रहेको उनको दाबी छ । उद्योगधन्दा बन्द हुने क्रममा रहेका कारण सरकारको राजश्व असुली समेत प्रभावित भएको उनको भनाई छ ।
राउतका अनुसार सुनसरी–मोरङ यो औद्योगिक करिडोरमा हाल करीव ५५० वटा ठूला तथा मझौला उद्योगहरु संचालनमा छन् ।
































