काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमै ४१ अर्बभन्दा बढी सार्वजनिक ऋण थपेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा ४१ अर्ब ११ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार साउन मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।
सरकारले तिर्न बाँकी सार्वजनिक ऋण नियाल्ने हो भने हरेक नेपालीको भागमा करिब ८३ हजार रुपैयाँ पर्न आउँछ ।
गत असार मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३१ अर्ब ३३ करोड थियो । यसमा आन्तरिक ऋण हिस्सा ११ खर्ब ८० अर्ब र बाह्य ऋण हिस्सा १२ खर्ब ५० अर्ब थियो । गत साउनसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ४९ र बाह्य ५१ प्रतिशत छ । उक्त अवधिमा आन्तरिक ऋण १२ खर्ब ३ अर्ब र बाह्य ऋण १२ खर्ब ६८ अर्ब रुपैयाँ छ ।
‘साउनमा सरकारले १९ अर्ब २७ करोड बराबर सार्वजनिक ऋण तिरेको छ । जसमध्ये १७ अर्ब आन्तरिक र २ अर्ब २७ करोड बाह्य ऋण तिरेको छ ।


































