काठमाडौं । हिमालयन बैंक लिमिटेडले १० वर्षदेखि शून्य मौज्दात भई चल्ती नभएका खाता बन्द गर्ने भएको छ । बैंकले लामो समयदेखि निष्क्रिय रहेका खाताका निक्षेपकर्तालाई आफ्नो रकम दाबी गर्न आग्रह गरेको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार १० वर्षदेखि शून्य मौज्दात रही चल्ती नभएका खाता बन्द गरिने बैंकले बताएको हो ।
सोही अवधिसम्म चल्ती नभएका वा हकदाबी नपरेका खाताका निक्षेपकर्तालाई आवश्यक प्रक्रिया पूरा गरी रकम लिन सम्पर्कका लागि बैंकले सूचना जारी गरेको छ ।
२० वर्षसम्म पनि कसैले दाबी नगरेको निक्षेप रकम राष्ट्र बैंकअन्तर्गतको ‘बैंकिङ विकास कोष’मा जम्मा गरिनेछ ।
































