काठमाडौँ - आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार नागरिक लगानी कोष (CIT) ले खुद नाफामा ७.७२ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब ३५ करोड ३ लाख पुर्याएको छ।
समीक्षा अवधिमा कोषको कुल आम्दानी ७.२८ प्रतिशत बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ, जसमा सेवा शुल्क तथा कमिसन आम्दानी १ अर्ब ७९ करोड रुपैयाँ र ब्याज आम्दानी ३६ करोड ४७ लाख रुपैयाँको योगदान रहेको छ। कोषको खुद कोष मौज्दात बढेर ३ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ भने विभिन्न क्षेत्रमा गरिएको कुल लगानी ३ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।
वित्तीय सूचकहरूलाई हेर्दा कोषको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८४ पैसा र प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ४७ पैसा कायम भएको छ। यद्यपि, बजारमा तरलताको अधिकताका कारण मुद्दती निक्षेपको ब्याजदरमा आएको गिरावटले गर्दा कोषको लगानी प्रतिफल भने अघिल्लो आर्थिक वर्षको ५.६८ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा झरेको छ।
सफ्टवेयर एकीकरण र घट्दो ब्याजदरका चुनौतीहरूका बीच कोषले डिजिटल रुपान्तरण, सेवा चुस्तता र सुरक्षित लगानी विविधीकरणमार्फत सहभागीहरूलाई आकर्षक प्रतिफल दिने रणनीति अपनाएको छ।


































