काठमाडौँ। चालु आर्थिक वर्ष २०८०-८१ सुरुबाट नै रेमिट्यान्स उच्च दरमा बढेको र आयात वृद्धि नहुँदा चालु खाता र शोधनान्तर बचत उल्लेख्य बढेको तथ्याङ्कमा उल्लेख छ ।
उच्च गतिको विप्रेषण(रेमिट्यान्स) वृद्धि रोकिँदा माघमा चालु खाताको वृद्धि पनि रोकिएन गएको हो। माघ महिनामा शोधनान्तर बचत बढे पनि चालु खातामा भएको वृद्धि रोकिएको नेपाल राष्ट्र बैंककको तथ्याङ्कले देखाएको छ।
आज आइतबारका दिन सार्वजनिक भएको राष्ट्र बैंककको तथ्यांक अनुसार पुस मसान्तमा १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको चालु खाता माघमा १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ ।
त्यस्तै पुससम्म मासिक औसत १ खर्ब २० अर्बभन्दा माथि रहेको रेमिट्यान्स माघमा घटेको छ । जसले गर्दा अन्य अवस्था यथावत हुँदा पनि चालु खाता बचत बढ्न नसकेको हो। यस्तै चालु आव सात महिनामा पुँजीगत ट्रान्सफर २९ प्रतिशतले घटेर ३ अर्ब ८० करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक देखिएको छ ।
गत आव सात महिनामा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड कायम थियो । खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोडले धनात्मक थियो । रेमिट्यान्स औसतभन्दा कम आउँदा शोधनान्तर बचत वृद्धिदर पनि केही कम भएको छ ।
तर, माघ मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । पुस मसान्तमा २ खर्ब ७३ अर्ब ५२ करोड बचतमा रहेको शोधनान्तर स्थिति माघमा पनि थप बढेको हो ।
































