काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमासम्बन्धी दायित्व निर्धारण र दाबी भुक्तानी प्रक्रियामा कुनै त्रुटि, लापरबाही वा कानूनविपरीत गतिविधि भएको अनुभूति भए प्रमाणसहित उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्राधिकरणका अनुसार केही बीमा कम्पनी, तिनका कर्मचारी तथा बीमा सर्भेयरबाट प्रचलित कानुन, नियामकीय मापदण्ड र व्यावसायिक आचारसंहिता विपरीत काम भइरहेको भन्ने गुनासाहरू प्राप्त भइरहेका छन्। यसैलाई ध्यानमा राख्दै प्राधिकरणले आवश्यक प्रमाणसहित उजुरी दिन सार्वजनिक सूचना जारी गरेको हो।
यदि कुनै पक्षबाट गलत विवरण तयार पारिएको, तथ्य लुकाइएको वा तोडमोड गरिएको, पक्षपातपूर्ण मूल्याङ्कन गरिएको वा अनुचित लाभ लिएको पाइएमा बीमा ऐन, २०७९ अनुसार सम्बन्धित व्यक्तिमाथि कारबाही अघि बढाइने प्राधिकरणले जनाएको छ।
उजुरी दर्ता गर्दा उजुरीकर्ताले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको विवरण, समस्या स्पष्ट उल्लेख, बीमालेख नम्बर, दाबी नम्बर तथा प्रमाणस्वरूप कागजात, फोटो वा भिडियो संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
उजुरी प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरस्थित दर्ता शाखामा प्रत्यक्ष रूपमा पेश गर्न सकिनेछ। साथै इमेल वा हुलाकमार्फत पनि उजुरी पठाउन सकिने प्राधिकरणले जनाएको छ।
प्राप्त उजुरी र त्यससँग सम्बन्धित प्रमाणहरू गोप्य राखिने तथा प्रचलित कानूनअनुसार अनुसन्धान गरी आवश्यक कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ।





























