National life

नेटवर्थ कम भएर सेबोनको पाइपलाइनबाट हटाइएका ५ कम्पनीले पुनः दिए आवेदन

यसअघि नेटवर्थ ९० रुपैयाँभन्दा कम भएकै कारण यसको आवेदन पाइपलाइनबाट हटाइएको थियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|११ साउन २०८३, सोमबार
1.3kShares
नेटवर्थ कम भएर सेबोनको पाइपलाइनबाट हटाइएका ५ कम्पनीले पुनः दिए आवेदन
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले न्यूनतम प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ कायम गर्नुपर्ने सर्त लगाएपछि आईपीओ पाइपलाइनबाट हटाइएका कम्पनीहरु पुनः सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रियामा फर्किन थालेका छन् । वित्तीय अवस्था सुधार गरी आवश्यक नेटवर्थ पुर्‍याएका ५ कम्पनीले पुनः आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन्।

पुनः आवेदन दिने कम्पनीमध्ये अन्नपूर्ण केबलकारले ४३ लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) बिक्रीका लागि अनुमति मागेको छ । यसअघि नेटवर्थ ९० रुपैयाँभन्दा कम भएकै कारण यसको आवेदन पाइपलाइनबाट हटाइएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पछिल्लो वित्तीय विवरणमा नेटवर्थ आवश्यक सीमाभन्दा माथि पुर्‍याएपछि कम्पनी पुनः बोर्ड पुगेको हो।

त्यसैगरी प्रभु हेलिकोप्टरले ६१ लाख २५ हजार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएको छ। ठमेल प्लाजाले २२ लाख ५० हजार कित्ता, रिचेत जलविद्युतले १६ लाख ८९ हजार ५०० कित्ता तथा पुवा खोला–१ हाइड्रोपावरले २० लाख ७० हजार कित्ता साधारण सेयर निष्कासनका लागि पुनः अनुमति मागेका छन् । यी सबै कम्पनीले प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ वा सोभन्दा माथि पुर्‍याएपछि मात्रै बोर्डमा नयाँ आवेदन दिएका हुन्।

सेबोनले अघिल्लो वर्षको जेठमा गरेको व्यवस्थाअनुसार प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओ निष्कासन प्रक्रियाबाट हटाएको थियो । बोर्डको उक्त निर्णयपछि १४ कम्पनीको आवेदन पाइपलाइनबाट हटाइएका थिए । त्यसबेला कमजोर वित्तीय अवस्था भएका कम्पनीलाई सर्वसाधारणबाट पूँजी उठाउन रोक लगाउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको थियो।

पाइपलाइनबाट हटाइएका १४ कम्पनीमध्ये हालसम्म २ कम्पनीले आवश्यक सर्त पूरा गरी आईपीओ निष्कासनको अनुमति प्राप्त गरिसकेका छन् भने पाँच कम्पनीले पुनः आवेदन दिएका हुन् ।  बाँकी ७ कम्पनीले भने अझै न्यूनतम नेटवर्थको सर्त पूरा गर्न नसकेकाले पुनः आवेदन दिन सकेका छैनन्।

सेबोनका अधिकारीहरुका अनुसार नेटवर्थ ९० रुपैयाँ वा सोभन्दा माथि पुगेपछि ती कम्पनीले जुनसुकै बेला अद्यावधिक वित्तीय विवरणसहित पुनः आवेदन दिन सक्ने व्यवस्था छ। बोर्डले त्यस्ता आवेदनलाई प्रचलित ऐन, नियमावली र निर्देशनअनुसार पुनः मूल्याङ्कन गर्ने जनाएको छ ।

विश्लेषकहरुका अनुसार नेटवर्थसम्बन्धी कडा व्यवस्था लागू भएपछि कम्पनीहरुमा वित्तीय अनुशासन बढेको छ। आईपीओ निष्कासनअघि पूँजी संरचना सुदृढ बनाउने, सञ्चित नोक्सानी घटाउने तथा व्यवसायको वित्तीय अवस्था सुधार्ने प्रवृत्ति बढ्न थालेको उनीहरुको भनाइ छ। यसले बजारमा आउने कम्पनीको गुणस्तर सुधारिनुका साथै सर्वसाधारण लगानीकर्ताको हित संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अघिल्लो वर्ष पाइपलाइनबाट हटाइएका कम्पनीमा एपेक्स हस्पिटालिटी, अर्किड होल्डिङ्स, लाफिङ बुद्ध पावर, अन्नपूर्ण केबलकार, पुवा खोला–१ हाइड्रोपावर, कान्तिपुर टेलिभिजन नेटवर्क, सोपान फर्मास्युटिकल्स, एकर्ड फर्मास्युटिकल्स, युनिक हाइडेल, रिचेत जलविद्युत, बेनी हाइड्रोपावर, ठमेल प्लाजा र प्रभु हेलिकोप्टरलगायत कम्पनी रहेका थिए।

आईपीओ बजारमा नयाँ कम्पनीको प्रवेश केही समय सुस्त देखिए पनि नेटवर्थ सुधार गरेर पुनः आवेदन दिने कम्पनीको संख्या बढ्दै जाँदा आगामी महिनामा प्राथमिक निष्कासनको पाइपलाइन फेरि सक्रिय हुने संकेत देखिएको छ। सेबोनले पनि न्यूनतम वित्तीय मापदण्ड पूरा गर्ने कम्पनीलाई मात्र सर्वसाधारणबाट पूँजी संकलन गर्न दिने नीति कायम राखेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?