काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ का प्रावधान उल्लङ्घन गरेको ठहर गर्दै तीन ब्रोकर कम्पनी र एक मर्चेन्ट बैंकरमाथि कारबाही गरेको छ ।
बोर्डले ती संस्थालाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ । दफा ७क को उपदफा (४) को खण्ड (घ) तथा दफा ७ग अन्तर्गतका व्यवस्थाहरू उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको हो ।
कारबाहीमा सिप्ला सेक्युरिटिज प्रालिलाई ५० लाख रुपैयाँ जरिवाना गरिएको छ भने श्री कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई जनही ३० लाख रुपैयाँका दरले दण्डित गरिएको छ ।
यसैबीच, धितोपत्र बोर्डले मर्चेन्ट बैंकर तथा सेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडलाई भने सचेत गराएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर वितरणका क्रममा २ हजार ५३३ जना शेयरधनीको डिम्याट खातामा आवश्यकभन्दा बढी सेयर जम्मा भएको पाइएपछि यस्तो कदम चालिएको हो ।
उक्त कार्यलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७६ अनुसार व्यावसायिक मापदण्ड उल्लङ्घन भएको ठहर गर्दै बोर्डले नियमावली, २०६४ को नियम २८ बमोजिम पहिलोपटकका लागि सचेत गराएको जनाएको छ ।


































