काठमाडौं। वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) निरन्तर घट्दै गएको छ, जसले समग्र ब्याजदरलाई पनि ओरालो लाग्न सहयोग पुर्याएको छ। २० वटै वाणिज्य बैंकको आधार दर घट्दै जाँदा कर्जाको लागत समेत क्रमशः सस्तो बन्दै गएको देखिन्छ।
हाल बैंकिङ प्रणालीमा तरलता अधिक मात्रामा रहेको छ। तर आर्थिक गतिविधिमा आएको शिथिलताका कारण कर्जाको माग अपेक्षाकृत न्यून रहँदा बैंकहरू निक्षेपको ब्याजदर घटाउन र आधार दर तल झार्न बाध्य भएका हुन्।
आधार दर कम भएका बैंकहरूबाट तुलनात्मक रूपमा सस्तो ब्याजदरमा ऋण लिन सकिने भएकाले ग्राहकहरूले राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकजस्ता संस्थालाई प्राथमिकतामा राख्न सक्छन्। यद्यपि, कर्जा लिँदा सेवा स्तर, अतिरिक्त शुल्क र सर्तहरू समेत ध्यानपूर्वक मूल्यांकन गर्न आवश्यक हुन्छ।
एक महिनाको अवधिमा वाणिज्य बैंकहरूको औसत आधार दर ०.०९ प्रतिशत विन्दुले घटेको छ। असार महिनामा ४.९७ प्रतिशत रहेको औसत आधार दर साउनमा घटेर ४.८९ प्रतिशतमा झरेको छ।

साउन महिनामा सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ, जसको दर ०.५ प्रतिशतले घटेर ४.२७ प्रतिशतमा कायम भएको छ। त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.२१ प्रतिशत, एभरेष्ट बैंकको ४.३८ प्रतिशत, नबिल बैंकको ४.४४ प्रतिशत, नेपाल बैंकको ४.५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.६४ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.७५ प्रतिशत, कृषि विकास बैंकको ४.७९ प्रतिशत र सानिमा बैंकको ४.९२ प्रतिशत आधार दर रहेको छ।
अन्य ११ वटै वाणिज्य बैंकहरूको आधार दर भने ५ प्रतिशतभन्दा माथि कायम रहेको छ। उच्च आधार दर हुने बैंकहरूमा एनआईसी एशिया बैंक र नेपाल एसबिआई बैंक अग्रस्थानमा छन्, जसको आधार दर क्रमशः ५.९१ प्रतिशत र ५.२१ प्रतिशत रहेको छ।
































