काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ। स्रोतका अनुसार दिउँसोसम्म नीति सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
यसअघि बिहानदेखि राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक बसेको छ। सो बैठकले नीतिको मस्यौदामा छलफल टुंग्याएपछि सञ्चालक समितिमा पेश गरिनेछ।
यस वर्षको नीतिमा मौद्रिक कार्यदिशा, ब्याजदर करिडोर, तरलता व्यवस्थापन र मौद्रिक औजारहरूको प्रयोगलाई प्राथमिकतामा राखिने संकेत देखिएको छ। यद्यपि बैंक तथा वित्तीय संस्थासम्बन्धी ठूला संरचनात्मक परिवर्तन तत्काल नगर्ने तयारी रहेको बुझिएको छ।
निजी क्षेत्र, बैंकिङ प्रणाली र पूँजी बजारले यस नीतिलाई विशेष महत्वका साथ हेरिरहेका छन्। बजेटले सम्बोधन गर्न नसकेका केही विषयहरू मौद्रिक नीतिमार्फत सहज बनाइने अपेक्षा गरिएको छ।
हाल बैंकिङ प्रणालीमा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न सकेको छैन। यस्तो अवस्थामा राष्ट्र बैंकले कर्जा विस्तारलाई प्रोत्साहन गर्ने खालका व्यवस्था ल्याउने संकेत दिएको छ। साथै, बजारमा देखिएको कम उत्साहलाई सम्बोधन गर्दै आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य राखिएको छ।
अन्तर्राष्ट्रिय स्तरमा देखिएको तनावले मुद्रास्फीतिमा केही दबाब सिर्जना गरे पनि राष्ट्र बैंकको आकलनमा अवस्था अझै नियन्त्रणभित्रै रहेको छ। बाह्य क्षेत्र सन्तुलित र ब्याजदर घट्दो क्रममा रहेकाले नीति लचिलो बनाउने सम्भावना देखिएको छ।
स्रोतका अनुसार नयाँ नीतिको मुख्य उद्देश्य तरलतालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउने, कर्जाको माग बढाउने र समग्र अर्थतन्त्रलाई चलायमान बनाउने हुनेछ।
गभर्नर विश्वनाथ पौडेलले भोलि भुटान भ्रमणमा जाने कार्यक्रम रहेकाले त्यसअघि नै मौद्रिक नीति सार्वजनिक गरिने तयारी गरिएको हो। यो उनको दोस्रो मौद्रिक नीति हुनेछ।
यसपटक नीति कडाइभन्दा बढी सहजीकरणतर्फ उन्मुख हुने र बजारमा विश्वास पुनःस्थापित गर्ने दिशामा केन्द्रित हुने अपेक्षा गरिएको छ।


































