काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.९६ अंकले बढ्दै २ हजार ६८५.५४ विन्दुमा पुगेको हो ।
आज कुल ८८ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
कारोबार भएका कम्पनीमध्ये १८० वटाको सेयर मूल्य वृद्धि भएको छ भने ८२ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै, १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज एभरेष्ट कलरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ । यस्तै, लक्ष्मी भ्यालु फण्ड ८ प्रतिशत, जोशी हाइड्रोपावर ६.७९ प्रतिशत, एनआईबीएल ग्रोथ फण्ड ६.६७ प्रतिशत र अप्पर लोहोरे खोला जलविद्युतको सेयर मूल्य ६.४४ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरि, रिडी पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
ग्लोबल आईएमई बैंकको १५ करोड ३२ लाख, सेन्ट्रल फाइनान्सको १४ करोड ८३ लाख, रिलायन्स स्पिनिङ मिल्स्को ११ करोड ६० लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको १० करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।































