काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम शुक्रबार पनि जारी रह्यो। कारोबारको अन्त्यमा नेप्से परिसूचक सामान्य २ अंकले ओरालो लाग्दै २६४९.५१ विन्दुमा झरेको छ।
आजको कारोबारमा करिब ७७ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम झण्डै ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।
बजारमा अधिकांश कम्पनीहरूको सेयर मूल्य घटेको देखिएको छ। आज ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको घटेको छ भने २० कम्पनीको मूल्य स्थिर रह्यो।
यद्यपि, केही कम्पनीहरूको सेयरमा उल्लेख्य वृद्धि देखिएको छ। स्नो रिभर कम्पनीको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ भने टक्सार पिखुवा खोला हाइड्रोपावर र यामबलिङ हाइड्रोपावरको मूल्य करिब १४.९८ प्रतिशतले उकालो लागेको छ। साथै, एनएमबी डिबेन्चरमा १०.८१ प्रतिशत र एनआईएमबी डिबेन्चरमा ७.११ प्रतिशतको वृद्धि देखिएको छ।
त्यसैगरि, ग्लोबल आईएमई बैंक डिबेन्चर ८६/८७ को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३३ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
ग्लोबल आईएमई बैंक डिबेन्चर ८४/८५ को २८ करोड ५७ लाख, नेपाल बैंक डिबेन्चरको २२ करोड ३४ लाख, आँखुखोला जलविद्युतको १५ करोड ३४ लाख, सिटी होटलको ११ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

































