काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। कारोबार अवधिभर उतारचढाव देखिएको बजार अन्त्यमा घटेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.९५ अंकले घट्दै २७१२.५४ विन्दुमा झरेको छ।
कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। आज ७७ कम्पनीको मूल्य बढ्दा १९३ कम्पनीको घटेको छ भने ७ कम्पनी स्थिर रहेका छन्।
बजार घटेको दिन पनि केही कम्पनीहरूमा उल्लेख्य वृद्धि देखिएको छ। एभरेष्ट कलरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ भने बुंगल हाइड्रो १०.५० प्रतिशतले उक्लिएको छ। त्यसैगरी सालपा विकास बैंक ५.९२ प्रतिशत, पियोर इनर्जी ५.२३ प्रतिशत र श्रीनगर एग्रीटेक ४.३२ प्रतिशतले बढेका छन्।
त्यसैगरि, रिडी पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४२ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड १० लाख, रिलायन्स स्पिनिङ मिल्स्को २६ करोड ३२ लाख, आँखुखोला जलविद्युतको २३ करोड २० लाख, नेशनल हाइड्रोपावरको १५ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।































