काठमाडौं । सरकारले सुनसरीमा भएको घटनाको छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै ब्यालिस्टिक र फरेन्सिक अनुसन्धान हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी नायब उपरीक्षक मोहनसिंह धामीलाई समितिको सदस्यमा नियुक्त गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार थपिएका दुवै सदस्यले घटनासँग सम्बन्धित प्राविधिक पक्षको अध्ययन गर्नेछन्।
सरकारले सुनसरी घटनाको छानबिनका लागि गत सोमबार गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।
गृह मन्त्रालयले सुनसरीलगायत अन्य जिल्लामा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन पूर्वतयारीसमेत अघि बढाएको जनाएको छ। मन्त्रालयका अनुसार बाँके, कपिलवस्तु, धनुषा, सिरहा, सप्तरीलगायत जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक समन्वय भइरहेको छ।
यसैबीच मन्त्रालयले सुनसरी क्षेत्रको सुरक्षा अनुगमन र समन्वयलाई तीव्र बनाएको छ। गृहमन्त्री, गृहसचिव तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा जिल्लागत सुरक्षा अवस्थाबारे समेत समीक्षा गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले वार्तामार्फत सुनसरीको समस्या समाधान गर्ने प्रयास भइरहेको र हाल देवानगञ्जलगायत संवेदनशील क्षेत्रमा अवस्था क्रमशः सामान्य बन्दै गएको जनाएको छ।


































