काठमाडौंः नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र रणनीति परिमार्जनका लागि बीमासम्बन्धी तथ्यांकको विश्लेषण आवश्यक रहेको बताएका छन्।
आज बीमा प्राधिकरणद्वारा काठमाडौंमा आयोजित ‘बीमा तथ्यांक तथा सार्वजनिक निकाय’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बीमासम्बन्धी तथ्यांकको विश्लेषण आवश्यकता औँल्याएका हुन् । नागरिकलाई गरिबीको दुष्चक्रबाट मुक्त गराउने माध्यम बीमा हुनसक्ने उल्लेख गर्दै उनले हरेक क्षेत्रका राष्ट्रिय नीतिमा बीमा समावेश गर्नुपर्नेमा समेत जोड दिएका छन्।
अध्यक्ष सिलवालले राष्ट्रिय तथ्यांकलगायत अन्य निकायबाट संकलन हुने तथ्यांकलाई एकीकृत गरी आदानप्रदान गर्ने संयन्त्रको आवश्यकता औँल्याएका छन्। ‘यसबाट सरकार र प्राधिकरणको नीति निर्माण, कार्ययोजना तर्जुमा र निर्णय तहमा प्रभावकारी भूमिका निर्वाह हुनेछ’, उनले भने।
बीमासम्बन्धी तथ्यांक संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझै व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरुसँग समन्वयात्मक रुपले अगाडि बढ्ने सन्दर्भमा राय सुझावहरु लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम रायाले अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय क्षमताका आधारमा तथ्यांक तयार गर्ने गरिएको जानकारी दिए।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राडा शिवराज अधिकारीले यसै वर्ष परिमार्जन गरिने विश्वविद्यालयको पाठ्यक्रममा बीमालाई अझै विस्तृत रुपमा समावेश गर्ने जानकारी दिए ।
कार्यक्रममा अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय तथ्यांक कार्यालय, यातायात व्यवस्था विभाग, वैदेशिक रोजगार विभाग, कृषि विभाग, पशु सेवा विभाग र नेपाल राष्ट्र बैंकका पदाधिकारीहरु, अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरु, बीमा कम्पनी, पुनर्बीमा कम्पनी र लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिती थियो ।






























