काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनी र बीमा सर्भेयर एक–अर्काका परिपूरक भएको बताएका छन्।
बीमा प्राधिकरणद्वारा आइतबार काठमाडौँमा आयोजित नेपाल बीमक संघ र नेपाल बीमा सर्भेयर संघसँगको अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो धारणा राखेका हुन्।
‘दुवै संघले एकले अर्कालाई बुझ्नुपर्छ, दुवै संस्थाले सानातिना समस्या समाधान गर्दै विश्वसनीय ढंगले काम गर्नुपर्छ उनले भने, ‘विद्यमान कानुन अनुसार काम गर्नुपर्छ, बीमा क्षेत्रलाई अघि बढाउन संयुक्त रूपमा अघि बढ्नुपर्छ।’
बीमा गरिएका सम्पत्तिको क्षतिको प्रतिवेदन तयार गर्दा कुनै पनि बहानाबाजी नगरी मर्का परेका व्यक्तिले जे दिन्छन् त्यसैलाई आधार मानेर प्रतिवेदन तयार गरी समयमा नै पेश गर्न पनि अध्यक्ष सिलावालले निर्देशन दिएका छन् ।
अध्यक्ष सिलवालले ‘दुवै संघका पदाधिकारीहरूले नयाँ काम गर्नुपर्ने बताएका छन् , सर्भेयरका लागि तालिम आयोजना गर्नुपर्यो, गुणस्तरीय सेवा दिनेतर्फ ध्यान दिनुपर्यो, र डिजिटल फ्रेमवर्कमा जोडिनुपर्यो, कुरामा जोड दिएका छन् । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सर्भेयरले छिटोभन्दा छिटो प्रतिवेदन बुझाउनुपर्ने र बीमा कम्पनीले पनि प्रतिवेदन प्राप्त हुनासाथ सर्भे फी भुक्तानी गर्नुपर्ने बताए।
प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सर्भेवरको सङ्ख्यामा भएको वृद्धिलाई चुनौतीका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने र बीमितलाई छिटो सेवा दिनुपर्ने आवश्यकता औँल्याए।






























